Hamro Patra
ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

टीकापुर, मंसिर २०
टीकापुर जेसीजको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । टीकापुर नगरपालिका–१ खड्गचोकमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका रावलले व्यक्तिको सानो लापरवाहीले ज्यानै जाने सक्ने भएकाले सबैले ट्राफिक नियमको पालना गर्नुपर्ने बताए । उनले सवारी साधन चलाउनेले मात्रै नभई पैदलयात्रीले समेत ट्राफिक नियमको पालना गर्नु आवश्यक रहेको बताए ।

‘जथाभावी बाटो काट्नाले समेत सवारी दुर्घटना हुने गरेको पाईन्छ’ उनले भने–‘सवारी दुर्घटना हुन नदिन हामी सबैको महत्वपूर्ण भूमिका छ ।’

उनले ट्राफिक प्रहरीका कारण मात्रै सवारी दुर्घटना न्यून नहुने भएकाले सबै सचेत नागरिकले सघाउनुपर्ने बताए । उनले सवारी दुर्घटना कम गर्नु गराउनु हामी सबैको दायित्व भएको कुरामा जोड दिए ।

सोही कार्यक्रममा विशिष्ट अतिथि रहेका ट्राफिक प्रहरी कार्यालय टीकापुरका वरिष्ठ प्रहरी नायब निरिक्षक जितबहादुर देउवाले सवारी दुर्घटनाका घटना बढ्दै गैरहेको बताए । उनले धेरैजसो घटनामा सवारी चालकको लापरवाही देखिने गरेको बताए ।

‘सवारी चालकको लापरवाहीले धेरै घटना भएका छन्’ उनले भने–‘सवारी साधन चलाउँदा ध्यान दिनुपर्छ ।’

उनले सवारी दुर्घटनाका घटना न्यूनिकरणमा नागरिकस्तरबाट समेत सहयोगको अपेक्षा रहेको बताए । उनले नागरिकको सहयोग बिना सवारी दुर्घटनाका घटना कम नहुने बताए ।

कार्यक्रम संयोजक लक्ष्मण विकको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकले धन्यवाद व्यक्त गरेका थिए । महासचिव मंगल साउँदले सञ्चालन गरेको कार्यक्रममा सप्ताहब्यापी कार्यक्रमका संयोजक रुपक बिष्टले स्वागत गर्नुका साथै ललित साउँदले जेसीज आस्था पाठ गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update