Hamro Patra
सरकारद्धारा धान खरिदमा ढिलाई

टीकापुर, मंसिर २०

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानले उत्पादन गरेको धान खरिदमा ढिलाई गरिरहेको छ । मंसिरको तेस्रो साता सकिनै लाग्दा पनि कम्पनीको केन्द्रीय कार्यालयले धान खरिदको लक्ष्य निर्धारण गर्न ढिलाई गरेका कारण धान खरिद प्रक्रियामा ढिलाई भएको हो ।

कम्पनीले धान खरिद गर्नमा ढिलाई गरेपछि कैलालीका किसानहरु सस्तोमा धान बिक्री गर्न बाँध्य छन् । ‘दुई बर्ष अघि मोटो धानको मुल्य २७ रुपैंया निर्धारण गरेको थियो’ धनगढी-१२ का किसान भवराज मिश्रले भने, ‘त्यतिबेला व्यापारीले पनि राम्रै मुल्य दिएका थिए, गत बर्ष बर्षाले भिजेको भन्दै सरकारले धान नै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान बेच्यांै, यस वर्ष मुल्य तोके पनि खरिद नगरेपछि सस्तोमै बेचिरहेका छौं ।’

धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यापारीलाई सस्तोमा धान बेच्नु परेको किसानहरु बताउँछन् । उनका अनुसार अहिले व्यापारीले किसानबाट बढीमा २० रुपैयाँमा धान खरिद गर्ने गरेका छन् ।

‘यही धान बेचेर गहुँ र तोरीका लागि खेत जोत्ने र मल खाद किन्नुछ’ कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का हिरालाल चौधरीले भने-‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुल्य तोके भन्दा सुनेको छु तर, खरिद नगर्दा गहुँ छर्नका लागि भए पनि गल्ला व्यापारीसँग सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।’

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीका प्रमुख इन्जिला बस्नेतले केन्द्रिय कार्यालयबाट परिपत्र नआउँदा धान खरिदमा ढिलाई भएको स्वीकार गरिन् । उनले भनिन -‘विगतमा धान खरिद प्रक्रिया मंसिर पहिलो वा दोस्रो सातामै भइसक्थ्यो । यस वर्ष केन्द्रिय कार्यालयबाट परिपत्र आएको छैन । अब एक-दुईभित्रै प्रक्रिया अघि बढ्न सक्छ ।’

उनले चामलको मूल्य सरकारको भन्दा निजीमा सस्तो भइरहेका कारण पनि अहिले धान खरिद प्रक्रियामा ढिलाई भएको बताइन् । ‘हामीले पहाडी जिल्लामा ढुवानी गर्ने चामल बजारभन्दा महँगो मूल्यमा आम उपभोक्ताले खरिद गर्नुपर्ने अवस्था छ’ उनले भनिन्- ‘यसका कारण हामीले ढुवानी गरेको चामलभन्दा पनि त्यहाँका उपभोक्ताहरुले बजारमै खरिद गरिरहेका छन् । यसमा मूल्य समायोजन गर्न केन्द्रिय कार्यालयमा पनि जानकारी गराइएको छ ।’ उनले नीजिमा चामल सस्तो पाइन लागेपछि कम्पनीको चामल खरिद न्यून हुन लागेको बताइन् ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा कैलालीको धनगढी, टीकापुर, जोशीपुर र भजनीबाट धान खरिद गरेको थियो । २०७८ मा बेमौसमी वर्षाका कारण कम्पनीले धान खरिद गर्न सकेको थिएन् ।

कम्पनीले सुदूरपश्चिमको बाजुरा, बैतडी, अछाम र डडेल्धुराका साथै कणर्ालीको मुगुमा चामल ढुवानी गर्दै आइरहेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update