टीकापुर, मंसिर २०
कैलालीको टीकापुरमा मोटरसाइकल चोरीका घटना बढ्न थालेका छन् । घर आँगनमा राखिएका मोटरसाइकलहरु एकपछि अर्को गर्दै चोरी हुन थालेका हुन् । गएराति टीकापुरको मुख्य भानुचोकस्थित आफ्नै घरको आँगनबाट शुक्र रावलको मोटरसाइकल चोरी भएको छ ।
रावलको सुजुकी कम्पनीको से७प ८२४४ नम्बरको मोटरसाइकल चोरी भएको हो । ‘घरको आँगमै राखेको थिएँ, रातिको समयमा चोरी भएछ’ रावलले हाम्रोपत्रलाई भने ‘घरकै आँगनबाटै बाइक चोरी हुन थालेपछि थप चिन्ता बढेको छ ।’ रावलको घर इलाका प्रहरी कार्यालय टीकापुर भन्दा झण्डै ५ शय मिटर उत्तरतर्फ मेनरोडमा पर्छ ।
त्यस्तै आइतवार राति टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १३ का मानस विष्टको स्कुटर समेत चोरी भएको छ । राति साढे १० बजेको समयमा नापी कार्यालय अगाडि रहेको ब्ल्याक आई कफी सपबाट विष्टको बा.२०१६प. ३३४७ नम्बरको खरानी रंगको स्कुटर चोरी भएको हो ।
विष्टले कफी सपमा पार्किङ्ग गरेर राखेको अवस्थामा स्कुटर चोरी भएको बताए । उनले स्कुटर चोरीको घटनाबारे प्रहरीलाई जानकारी गराई सकिएको बताए ।
यता, इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डिएसपी हेम शाहीले मोटरसाइकल चोरीको घटनाबारे जानकारी आएको बताउँदै संलग्नलाई तत्काल पक्राउ गर्ने बताए । ‘केही समय पहिले हामीले पक्राउ गरेर मुद्दा नै चलाएका थियौं’ उनले भने ‘फेरि घटनाहरु भएका छन्, तत्काल पक्राउका लागि हामी लागिरहेका छौं ।’
घर आँगनबाटै मोटरसाइकल, स्कुटर चोरी हुन थालेपछि टीकापुर क्षेत्रमा सुरक्षा सर्तकता बढाउनु पर्ने देखिएको छ।




