टीकापुर, मंसिर २१
कैलालीको जोशीपुरमा सालाको हत्या गरेर फरार भएका गौरीलाल ढुंगाना भारततर्फ भागेको आशंका गरिएको छ । उनी घटना लगत्तै भजनीको बाटो हुँदै भारततर्फ गएको हुनसक्ने स्थानीयले बताएका छन । जोशीपुर भारतीय सीमा क्षेत्र नजिकै पर्दछ ।
प्रहरीले समेत उनी भारततर्फ गएको हुनसक्ने अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद जोशीले उनको खोजी कार्य भैरहेको जानकारी दिए । ‘हामीले पनि भारततर्फ गैसकेको हुन कि भन्ने अनुमान गरेका छौं’ उनले भने–‘खोजी कार्य भैरहेको छ ।’
जोशीपुर गाउँपालिका–६ कुमारीबागका कान्ते भनेर चिनिने ५० वर्षका ढुंगानाले गएराति पौने ९ बजेतिर घरेलु हतियार प्रयोग गरेर एकजना सालाको हत्या गरेका छन भने अर्का एकलाई घाईते बनाएका छन । ढुंगानाले प्रहार गरेको घरेलु हतियार (हसिया) लागेर ३३ वर्षका पदम भण्डारीको मृत्यु भएको छ भने ४० वर्षका जयराम भण्डारी घाईते भएका छन ।
घाईते भण्डारीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको आईसियुमा राखेर उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । उनी विगत केही वर्षदेखी अटो चलाउँदै आएका छन ।
उनीहरु सबैजना एउटै टोलका बासिन्दा समेत हुन । तीनै जनाले सँगै मदिरा सेवन गरेको स्रोतले बताएको छ । मदिरा सेवनकै क्रममा उनीहरुबीच घरायसी झगडालाई लिएर विवाद भएको बताईएको छ । भिनाजु ढुंगानाले दिदीलाई प्रायजसो कुटपिट गर्ने गरेपछि सालाहरुले त्यसो नगर्न भनेर सम्झाएका थिए । यही विषयमा उनीहरुबीच विवाद चर्केको थियो ।
प्रत्यक्षदर्शीका अनुसार ढुंगानाले भण्डारीद्वयलाई मारिदिने धम्की दिएका थिए । उनीहरुले सक्छौ भने मारेर देखाउ भनेपछि ढुंगाना घरबाट हसिया लिएर आएका थिए । ढुंगानाले एकाएक दुवैजना माथि हसिया प्रहार गरेको स्थानीयले बताए ।
मृतक भण्डारीको घाँटीमा चोट लागेको थियो । अत्याधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याईएको थियो । उनीसँगै घाईतेलाई समेत उपचारका लागि अस्पताल पुर्याईएको थियो । चिकित्सकले एकजनालाई मृत घोषणा गरेको र अर्कालाई थप उपचारका लागि रिफर गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुकाबीच यसअघि समेत झैझगडा हुने गरेको स्थानीयले बताएका छन । केही समयअघि ढुंगानाले सालालाई सावर्जनिक मुद्दा लगाएका थिए । तत्कालिन अवस्थामा समेत उनीहरुबीच झैझगडा भएको थियो ।




