Hamro Patra
मोहन्याल गाउँपालिका निलम्बित अध्यक्ष कामकाजमा

टीकापुर, मंसिर २१

भ्रष्टाचार मुद्दामा निलम्बित कैलालीको पहाडी मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले कामकाज गर्न थालेपछि विवाद भएको छ ।
भ्रष्टाचार मुद्दामा निलम्बन भएकै अवस्थामा पालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायले अदालतबाट सफाइ पाएको दाबी गर्दै कार्यपालिका बैठक बोलाएर नीतिगत निणर्य गर्न थालेपछि अन्य जनप्रतिनिधिले विरोध गर्दा विवाद भएको हो ।

उपाध्यायले पालिका अध्यक्षको हैसियतमा असोज ३० गतेदेखि कामकाज गरिरहेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए । तर उनी निलम्बनमा रहेको वा निलम्बन फुकुवा भइसकेको विषयमा भने पछि कुरा गर्ने भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे ।

पदभार सम्हाल्दै यसअघि एउटा कार्यपालिका बैठक बोलाइसकेका अध्यक्ष उपाध्यायले १४ मंसिरमा पनि कार्यपालिकाको बैठक बोलाएका थिए । तर कार्यपालिका सदस्यहरुले निलम्बन फुकुवा भएको वा विशेष अदालतबाट सफाइ पाएको कागज पत्र देखाउन माग गरेपछि बैठक बस्न नसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।

मोहन्याल गाउँपालिका-४ का वडाध्यक्ष बसन्त बुढाले उपाध्यक्ष कमल बहादुर साउँद लगायतका जनप्रतिनिधिले अदालतले कामकाज गर्न दिनू भनेर लेखी पठाएको पत्र देखाउन आग्रह गरेको बताए । अध्यक्ष उपाध्यायले पत्र देखाउन नसकेपछि कार्यपालिका बैठक बस्न नसकेको उनको भनाइ छ ।

पालिका अध्यक्ष उपाध्यायले आफ्नोविरुद्ध सर्वोच्च अदालतमा कामकाज गर्न रोक लगाउन माग गर्दै परेको रिट निवेदन खारेज भएकाले काम गर्ने बाटो खुलेको बताउँदै आएका छन् । ‘सर्वोच्च अदालतले मेरा विरुद्ध परेको रिट निवेदन खारेज गरेपछि कार्यपालिकाको एउटा बैठक बसालेको थिए । साथीहरुले पूणर् पाठ आउनुदिनुपर्‍यो भनेपछि काम गरेको छैन’ उपाध्यायले भने ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उपाध्यायविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले अध्यक्षको हैसियतमा काम गर्न नपाउने जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख रामबहादुर कुरुम्बाङले उपाध्याय अहिले पनि निलम्बनकै अवस्थामा भएकाले अध्यक्षको हैसियतमा कामकाज गरेको पाइएमा पक्राउ गरेर कारबाही गरिने बताए ।

‘उपाध्यायले अध्यक्षको हैसियतमा काम गरिरहेको भन्ने गुनासो हामी कहाँ पनि आएको छ । त्यो सम्बन्धमा छानबिन भइरहेको छ,’ कुरुम्बाङले भने, ‘उहाँले त्यसरी कामकाज गरेको पाइएमा पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँछौँ ।’

३० वैशाखमा नेकपा माओवाली केन्द्रबाट मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई तत्कालीन वडा नम्बर २ को अध्यक्ष भएका बेला भ्रष्टाचार मुुद्दा लागेको थियो । उक्त मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update