टीकापुर, मंसिर २३
कैलालीको टीकापुर नगरपालिकामा स्थानीयबासीले तालाबन्दी गरेका छन् । वडा नं. ४ का स्थानीयहरुले नगरपालिकाले हचुवाका भरमा आफ्नो भत्काएको भन्दै तालाबन्दी गरेका हुन् । उनीहरुले उचित छानविन नै नगरी आफूहरुको मात्रै घर भत्काएपछि तालाबन्दी गरेको बताएका छन् ।
मंगलवार नगर प्रमुख रामलाल डगौरा थारुको नेतृत्वमा गएको टोलीले वडा नं. ४ को मौरनियाँस्थित पदमबहादुर कठायतको माटोको चिनाई रहेको एक टहरा र नरेन्द्र बोहराको झण्डै ५ मिटर टिनको बार भत्काएको थियो ।
अतिक्रमित जग्गा खाली गर्ने अभियान शुरुवात भएको उद्घोष गरेका नगर प्रमुख थारुले कठायत घर र बोहराको बार विना नापजाँच भत्काएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।
टीकापुर नगरपालिका नगर उपप्रमुख खडकबहादुर शाहले नगरपालिकामा तालाबन्दी गरेको खबर पाएको बताए ।
नगर प्रमुख रामलाल डगौरा थारुले भने आफू काठमाडौं आएको बताउँदै नगर क्षेत्रभित्र अतिक्रमण भएका जग्गाहरु प्रक्रिया अनुसार क्रमशः खाली गर्दै जाने बताए ।
स्थानीयले तालाबन्दी गरेपछि नगरपालिकाको काम कारवाही प्रभावित बनेको छ ।




