Hamro Patra
लम्की–टीकापुर–खक्रौला सडक:  म्याद सकिँदै, प्रगति न्यून

टीकापुर, मंसिर २५

निर्माण अवधि सकिन एक महिना बाँकी रहँदा कैलालीको लम्की–टीकापुर–खक्रौला सडक खण्डको निर्माण कार्य झण्डै ३० प्रतिशत मात्रै भएको छ । तीस महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नति गर्ने कार्यको प्रगति समयावधि सकिनै लाग्दा समेत ३० प्रतिशत मात्रै भएको हो ।

लम्कीदेखि खक्रौलासम्मको २९.७ किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको थियो । लम्कीदेखि पथरैयासम्मको पहिलो खण्डको प्रगति केही भए पनि पथरैयादेखि अस्नेहरी र अस्नेहरीदेखि खक्रौलासम्मको सडक खण्डको प्रगति भने न्यून छ ।

अहिलेसम्मको कामको प्रगति हेर्दा अबको बाँकी एक महिनाको समयमा काम सम्पन्न हुने सम्भावना छैन । सडक निर्माण कम्पनीले दु्रत गतिमा काम गरेमा पहिलो खण्डको आगामी जेठ मसान्तसम्म र अन्य दुई खण्डको करिब एक वर्षभित्र काम पूरा हुने सम्भावना रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सविन जोशीले बताए ।

‘समयमै काम सकिने सम्भावना टरेको छ, अब तीव्रगतिमा काम गरेमा सबै सडक निर्माण सकिन करिब एक वर्ष लाग्ने देखिन्छ’ उनले भने ‘पहिलो खण्डको काम तीव्र गतिमा हुँदैछ, पहिलो खण्डका लागि धेरै समय आवश्यक छैन, अन्य खण्डका लागि करिब एक वर्ष लाग्छ ।’ तीनवटै ठेकेदार कम्पनीलाई सडक निर्माणको काम चाँडो सक्न ताकेता गरिरहेको प्रमुख जोशीले बताए ।

सडकको पहिलो खण्डमा कालिका कुमार जेभी निर्माण कम्पनीका दिनेश मल्लले काम गरिरहेका छन् । उक्त सडकको १ हजार ८ शय मिटर कालोपत्र गरिएको र आगामी जेठ मसान्तभित्र सडक कालोपत्रको काम सकाउने मल्लले बताए । ‘हामी धमाधम काम गरिरहेका छौं आगामी जेठ मसान्तसम्म सबै काम सक्ने गरी काम थालेका छौँ’ उनले भने ‘अब ढिलाइ हुँदैन ।’

दोस्रो खण्डको एपेक्स खड्का कृष्ण जेभी र तेस्रो खण्डको रायमाझी गल्वा जगदम्बा जेभीले निर्माण गरिरहेको छ । उनीहरुको निर्माण प्रगति भने न्यून छ । यसरी ठेक्का लिएर समयमै काम नहुँदा नागरिकलाई निकै समस्या भइरहेको छ ।

निर्माण कम्पनीलाई दबाब दिनु आवश्यक रहेको नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईं बताउँछन् । ‘समयमै निर्माण सम्पन्न नहुँदा नागरिकलाई सास्ती भएको छ, खाल्डाखुल्डी छन् सडक धुलाम्मे छ’ चपाईले भने ‘जताततै खनेर अलपत्र छोडिएको अवस्था छ, यो नागरिकमाथि गरिएको लापरवाही हो, यस्तो लापरवाही गर्ने छुट कसैलाई दिन हुँदैन ।’

उक्त सडक लम्की बजारबाट दक्षिणतर्फ झण्डै २ किलोमिटर, टीकापुर बजार क्षेत्रमा झण्डै ४ किलोमिटर र अन्य क्षेत्रमा गरी ७ किलोमिटर चार लेनको बाटो हुनेछ भने बाँकी दुई लेनको हुनेछ ।

पहिलो खण्डको ८ किलोमिटर सडकका लागि २०७७ जेठ २८ गते ४० करोड १९ लाखमा सम्झौता भएको थियो । दोश्रो खण्डको १० किलोमिटर सडकका लागि २०७७ जेठ २६ गते ४० करोड ९९ लाख रुपैयाँमा सम्झौता भएको थियो । त्यस्तै तेश्रो खण्डको लागि २०७७ असार १४ गते ३३ करोड २० लाखमा हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update