Hamro Patra
धान खरिद नगर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ताला

टीकापुर, मंसिर २५

सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार धानको मूल्य निर्धारण गरेर पनि धान खरिद नगरेको भन्दै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो ।

नेपाली कांग्रेसको नेपाल किसान महासङ्घ र नेकपा एमालेको अखिल नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन्। सरकारले कात्तिक १६ गते धानको मूल्य निर्धारण गरेको थियो। तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भइरहेका छन्।

सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न माग गर्दै कार्यालयका तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले बताए।

उनले भने, ‘किसानको धान किन्ने भनेर स्थापना गरिएको कार्यालयले समयमा धान किनिरहेको छै, त्यसले गर्दा किसानहरु मर्कामा परे। उनीहरु सस्तोमा धान बेच्न बाध्य छन्। अब तत्काल खरिद गर्नुपर्छ भनेर तालाबन्दी गरेका हौँ।’ यस्तै उनले सरकारले किसानको धान खरिद नगरे थप सशक्त आन्दोलन गर्न चेतावनी समेत दिए।

सरकारले यसअघि नै मोटो धानको मूल्यप्रति क्विन्टल २ हजार ९७६ र मसिनो धानको मूल्य क्विन्टल ३ हजार १२८ निर्धारण गरेको थियो। तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको किसानको धान खरिद गरिरहेको छैन। जसका कारण किसानहरु २ हजार ४ सय मूल्यमा धान बेच्न बाध्य छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update