Hamro Patra
रेशम तत्काल नछुट्ने, डिल्लीबजारमा उन्मुक्तिका कार्यकर्ता भेला

टीकापुर, मंसिर २६

टीकापुर घटनाको मुख्य आरोपी भन्दै डिल्लीबजारस्थित कारागारमा रहेका रेशमलाल चौधरीको स्वागतका नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता डिल्लीबजारमा भेला भइरहेका छन् ।

सरकारले हिजो ल्याएको अध्यादेश आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि रेशम छुट्ने भन्दै उनीहरु डिल्लीबजारमा भेला भएका हुन् ।

सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निणर्य गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम छुट्ने हल्ला चलेको हो ।

आइतबार सरकारले अध्यादेश ल्याउने निणर्य गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम चौधरी कारागारबाट छुट्ने प्रतिक्रिया मिडियालाई दिएकी थिइन् ।

अहिले डिल्लीबजार कारागार अगाडि सडकमा नागरिक उन्मुक्तिका कार्यकर्ता पार्टीको झन्डा र फूलमालासहित उपस्थित भएका छन् । डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ ।

चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए ।

उनीहरूले नयाँ बन्ने सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागी हुन आग्रह गरेका थिए । जवाफमा चौधरीले थरुहट आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा खारेज र आममाफी दिनुपर्ने प्रस्ताव गरेका थिए ।

यता, पार्टी अध्यक्ष एवं रेशम पत्नी तथा कैलाली क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठले भने रेशम तत्काल नछुट्ने संकेत गरेकी छन् । आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै उनले तत्काल नछुट्ने संकेत गरेकी हुन् ।

‘सम्पूणर् साथीहरूलाई सयंमित हुन अनुरोध गर्दछु । माननीय ज्यूको रिहा हुने प्रकिया हुँदैछ । अहिले तत्कालै निस्कने होइन । अध्यादेश राष्ट्रपतिज्यूमा पुग्नेछ अनि प्रकृयागत रूपमा नयाँ कार्यदिशा तयारपश्चात् बाहिर निस्कने प्रकृया हुन्छ’ रेशमसँगको आफ्नो तस्वीर शेयर गर्दै श्रेष्ठले लेखेकी छन् ।

टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए। सो घटना रेशम चौधरीकै निर्देशनमा भएको भन्दै अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update