Hamro Patra
लम्कीचुहाका मेयर शाहीको चौतर्फी आलोचना

टीकापुर, मंसिर २६

कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएको समाचारप्रति विभिन्न संगठनहरूले विरोध जनाएका छ्न् ।

समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने विभिन्न निकाय हुँदाहुँदै पनि मेयर शाहीले पत्रकारलाई नियन्त्रणमा लिएर समाचारका लागि लिइएको भिडियो तथा फोटोहरू मेटाउन लगाउनु र हातपात समेत गर्नु खेदजनक भएको पत्रकारका विभिन्न संगठनहरूले आपत्ति जनाएका हुन् ।

न्युज ट्वान्टिफोर टेलिभिजनमा कार्यरत पत्रकार ढुङ्गानाले आइतबार मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि केही घण्टा नियन्त्रणमा लिएको बताएका थिए ।

यसरी आपत्ति जनाउनेमा नेपाल पत्रकार महासंघ कैलाली शाखा, प्रेस संगठन, प्रेस चौतारीको प्रदेश तथा जिल्ला संघ र प्रेस युनियन कैलाली रहेका छन्।

पत्रकारसँग सम्बन्धित संघ-संगठनले मात्रै होइन उक्त कार्यको सामाजिक सन्जालमा समेत व्यापक विरोध भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update