टीकापुर, मंसिर २६
तटबन्ध निर्माणको काममा संलग्न कामदारमाथि
नेपालतिरबाट ढुंगामुढा गरेको आरोपमा निर्माण कम्पनीले सात जनाविरुद्ध धार्चुला प्रहरी थानामा उजुरी दर्ता गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
सात जना नेपालीविरुद्ध भारतीय प्रहरीमा जाहेरी
भारतीय प्रहरीमा अज्ञात सात जना नेपाली विरुद्ध जाहेरी परेको छ । महाकाली नदीको धार परिवर्तन गर्ने गरेर भइरहेको तटबन्ध निर्माणको कामको विरोध गर्ने नेपाली नागरिक विरुद्ध भारतीय प्रहरीमा उजुरी परेको हो । तटबन्ध निर्माणको काममा संलग्न कामदारमाथि नेपालतिरबाट ढुंगामुढा गरेको आरोपमा निर्माण कम्पनीले सात जनाविरुद्ध धार्चुला प्रहरी थानामा उजुरी दर्ता गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
१८ मंसिरमा भारतीय पक्षले महाकाली नदी नेपालतिर धकेल्ने गरी एकलौटी रुपमा तटबन्ध निर्माण हुन थालेपछि दार्चुलाका स्थानीय भारतको विरोधमा उत्रिएका थिए ।
भारतीय नागरिकले विरोधमा उत्रिएका नेपालीमाथि ढुंगामुढा समेत गरे । त्यसपछि नेपाली नागरिकले पनि प्रतिकार गरेका थिए ।
भारतीय पक्षबाट भएको ढुंगामुढामा नेपालतिर ४ जना घाइते भएका थिए । त्यसको विरोधमा महाकालीमाथिको नेपाल-भारत जोड्ने पुल नेपाली नागरिकले बन्द गराएका थिए ।
अर्को दिन भारतीय पक्षले पनि पुल २ घण्टा बन्द गरायो । त्यति मात्रै होइन, सो घटना पछि भारत प्रवेश गर्ने नेपालीमाथि भारतले चेकजाँचमा कडाई समेत गरेको थियो ।
नेपाल-भारत सीमामा भइरहेको तनावको सर्वत्र विरोध पछि सरकारले भारतलाई कुटनीतिक नोट पनि पठाएको थियो । त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनले छलफल गरेर सीमामा भइरहेको तनाव हटाउने सहमति गरेका थिए।
महाकाली नगरपालिका-४ रिङ्गे तालस्थित तटबन्ध निर्माणको क्रममा बाँधिएको बाँध हटाएर महाकाली नदीलाई बिचबाट बगाउन भारत सहमत भएको थियो ।
साथै, तटबन्ध निर्माणको क्रममा बनाइएका अस्थायी संरचना हटाउने र विवाद भएको ठाउँमा तत्काल काम अघि नबढाउने भारतले प्रतिवद्धता जनाएको थियो ।
भारतीय पक्षलाई १० दिनको अवधि दिएर त्यसपछि दुवै पक्षको समन्वयमा काम अघि बढाउने गरेर छलफल गर्नेमा नेपाली र भारतीय प्रशासन सहमत भएका थिए ।
तर भारतीय पक्ष भने सो सहमति विपरित ढुंगामुढाको आरोप लगाउँदै नेपाली नागरिक विरुद्ध जाहेरी दर्ता गराएर विवादलाई थप बढाउनेतिर उद्धत छ ।
दुवै देशका स्थानीय प्रशासनबीचको छलफलमा नेपाली प्रशासनले भारततर्फ ढुंगामुढा गर्ने नेपालीमाथि छानविन गरेर कारबाहीको दायरामा ल्याउने आश्वासन दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरिरहेका छ ।
नेपालतिर महाकाली फर्काउने गरी महाकालीमा बाँधिएको बाँध भारतले अहिलेसम्म नहटाएको खलंगाका स्थानीय अमन बोहराले बताए । ‘विवाद भएको ठाउँमा सामान थुप्रिएर बनेको बाँध अहिलेसम्म भारतले हटाएको छैन, महाकालीतिर नेपालतिर आउँदैछ, अरु ठाउँमा काम अगाडि बढाएको छ,’ उनले भने ।
भारतीय प्रहरीमा ढुंगामुढा प्रहार गरेको आरोपमा नेपाली विरुद्ध जाहेरी परेपछि त्रास उत्पन्न भएको छ । ‘भारतीय रहेको एक जना नातेदारलाई सोध्दा जाहेरी दर्ता भएको सुनिएको छ, यस्तो अवस्थामा हामी अब कसरी ओहोरदोहोर गर्ने ?,’ उनी भन्छन्, ‘भारतीय पक्षबाट विवाद हटाउनेतिर भन्दा पनि नेपाल र भारतबीच द्धन्द्ध बढाउने गतिविधिमा जोडबल भइरहेको छ ।
दार्चुलावासी दैनिक मजदुरी, किनमेलका लागि भारततिर जाने गर्दछन् । ‘भारतीय पक्षले जसलाई पनि फसाउन सक्छन्, हामीलाई हिँडडुल गर्नै गाह्रो भयो,’ बोहराले भने ।
नेपाली प्रशासनलाई भारतीय पक्षको ज्यादती रोक्न ध्यानाकर्षण गराउन सोमबार प्रशासनमा जाने उनले बताए ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद भारतलाई दिएको १० दिनको अवधिमा गर्नु पर्ने काम सुक्ष्म ढंगले नियालिरहेको बताउँछिन् । ‘४ दिन भएको छ, दुवैतर्फको प्रावधिक टोलीले काम हेरिरहेका छन्, १० दिनसम्म के के गर्छन ?,’ उनले भनिन्, ‘त्यसपछि फेरि छलफलमा बस्छौं, त्यहाँ कुरा हुन्छ ।’
नेपाल-भारत सीमामा तनाव उत्पन्न हुन नदिने भनेर भारतीय प्रशासनलाई प्रतिवद्धता जनाएको उनले बताइन् । ‘ढुंगामुढा गर्ने नेपालमाथि कारबाही गर्छौ भनेर भनेका छैन, सीमामा तनाव हुन नदिने भनेर मात्रै भनेका हौं,’ उनी भन्छिन् ।
भारतीय प्रहरीमा नेपाली विरुद्ध जाहेरी दर्ता भएको विषयमा नेपाली प्रशासनलाई कुनै जानकारी नभएको उनले बताइन् ।




