टीकापुर, मंसिर २७
जनादेशबाट प्रदेशले नयाँ प्रदेश सभा सदस्य पाएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको चर्चा सुरु भएको छ। जनताले प्रदेश सरकार गठनबारे चासो लिइरहेका बेला दलले पनि नयाँ सरकार गठनको कसरत गर्न थालेका छन् । खास गरेर सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको सवालमा ध्यान केन्द्रित गरेका हुन् ।
प्रदेश सभामा जम्मा ५३ सदस्य रहेकोमा सरकार गठनका लागि सत्तारूढ दलसँग स्पष्ट बहुमत रहेको छ । बहुमतको सरकार गठन गर्न २७ सदस्य संख्या चाहिन्छ । गठबन्धनसँग ३४ सदस्य संख्या रहेको छ । त्यसैले सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भित्र नयाँ सरकार गठनको सवालमा कुरा उठ्न थालेको छ ।
नयाँ सरकार गठनका लागि गठबन्धनबीच छलफल नभए पनि गठबन्धनमा आबद्ध दलहरूभित्र आ-आफ्नै तवरले कुरा उठिरहेको नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष हरिराम चौधरीले बताए । उनले भने ‘तर प्रदेश सरकार गठनको सवालमा गठबन्धन दलबीच अहिले छलफल भएको छैन ।’
उनले भने ‘समानुपातिकतर्फको अन्तिम टुङ्गो लागिसकेपछि यो कार्य अगाडि बढ्छ ।’ सदस्यहरूको शपथ ग्रहणपछि प्रदेशमा नयाँ सरकारको गठनको कार्यलाई अगाडि बढाइने अध्यक्ष चौधरीले बताए । ‘गठबन्धन दलको पूणर् सहमतिबाटै गठबन्धनको प्रदेश सरकार बन्छ’ उनले भने । सुदूरपश्चिम प्रदेश सभामा छ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ ।
यसैगरी एक जना प्रदेश सभा सदस्य स्वतन्त्रबाट निर्वाचित भएका छन् । गठबन्धन आबद्ध तीन राजनीतिक दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश सभामा उपस्थिति भएको छ । तीनै दलभित्र मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन् ।
नेपाली काँग्रेसबाट प्रकाश देउवा र दिवानसिंह विष्ट मुख्यमन्त्रीको आकांक्षी छन् । देउवा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भतिजा हुन । यसैगरी नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्रीको बलियो दाबेदार खगराज भट्ट हुुन् । उनले आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् ।
निर्वाचनअघि डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पनि चुनाव जितेमा भट्ट मुख्यमन्त्री बन्न सक्ने सङ्केत गरेका थिए । यस्तै नेकपा (एकीकृत समाजवादी) बाट दीर्घ सोडारी मुख्यमन्त्रीको दाबेदार छन् । सोडारी अहिले प्रदेश सरकारमै बहालवाला मन्त्री हुन् । गठबन्धन दलहरूमा केहीको व्यक्तिगत रूपमा मुख्यमन्त्रीको लागि दाबी रहे पनि सहमतिबाटै मुख्यमन्त्रीको टुङ्गो लगाइने अध्यक्ष चौधरीको भनाइ छ । ‘आपसी सहमतिबाटै सरकार बनाउँछौँ’ उनले भने ।




