टीकापुर, मंसिर २८
पार्किङ्ग गर्ने विषयमा विवाद हुँदा भएको कुटपिटबाट घाइते कैलालीको बर्दगोरियाका एक युवकको मृत्यु भएको छ । कुटपिटबाट जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ कट्टीपुरका ४० वर्षीय लालबहादुर बोहराको उपचारका क्रममा मृत्यु भएको हो ।
मंसिर २४ कट्टीपुरमा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट बोहरा घाइते भएका थिए । घाइते भएपछि बोहरालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।
डीएसपी जोशीकाअनुसार बजार नजिकैको पसलमा भारतीयले पार्किङ गरेको विषयमा विवाद भएपछि बोहरामाथि कुटपिट भएको थियो ।
यस्तै उनको मृत्युपछि स्थानीयले बर्दगोरिया गाउँपालिकाको मुडा बजारमा पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए। बुधबार बिहानैदेखि कुटपिटबाट मृत्यु घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारी साधन ठप्प पारेका थिए ।
उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनाको जिम्मा लिएका बर्दगोरिया गाउँपालिका-४ का सुरेन्द्र डगौरा र श्रवण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




