टीकापुर, मंसिर २८
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीको टीकापुर, सत्ती र मोहनपुरबाट धान खरिद गर्न थालेको छ । सरकारले निर्धारण गरेको कोटाअनुसार मंगलबारदेखि कम्पनीले धान खरिद गर्न थालेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदुरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतले दिएको जानकारी अनुसार मंगलबारदेखि तीनवटै ठाउँबाट धान खरिद शुरु गरिएको हो । पहिलो दिन तीनवटै केन्द्रबाट एक हजार क्विन्टल धान खरिद भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १६ कार्तिकको मोटा धानको न्यूनतम मूल्य २ हजार ९ शय ६७ र मध्यम धानको मूल्य ३ हजार १ शय २८ कायम गरेको थियो । कार्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन ।
कैलालीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी शक्रबार तीन स्थानबाट धान खरिद गर्ने निणर्य गरिएको थियो । कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति आएको प्रदेश कार्यालय प्रमुख बस्नेतले बताइन् ।




