Hamro Patra
सुदूरपश्चिम प्रदेश सभामा खस आर्य समुदायको वर्चस्व

टीकापुर, पुष १

सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व भएको छ । जम्मा ५३ सदस्य रहेको प्रदेश सभाका लागि खस आर्यबाट ४३ जना प्रदेश सभा सदस्य चयन भएका छन् । जुन कुल सङ्ख्याको ८१.१३ प्रतिशत सहभागिता हो ।

यसैगरी, थारु समुदायबाट पाँच प्रत्यक्ष र दुई समानुपातिक गरी सात जनाको प्रतिनिधित्व भएको छ । प्रदेश सभामा यो समुदायको सहभागिता १३.२० प्रतिशत सुनिश्चित भएको छ । त्यस्तै, दलितको सहभागिता ५.६६ प्रतिशत रहेको छ ।

प्रदेश सभामा तीन जना दलितको प्रतिनिधित्व छ । प्रतिनिधि सभा र प्रत्यक्षबाट प्रदेश सभामा शून्य रहेको दलितको सहभागिता समानुपातिक तर्फबाट सुनिश्चित गरिएको हो । समानुपातिकबाट नेपाली कांग्रेसले कैलालीकी ५५ वर्षीया ललिता सुनारलाई प्रदेश सभा सदस्य बनाएको छ । सुनार टीकापुर नगरपालिका -१ की बासिन्दा हुन ।

त्यस्तै, नेकपा (एमाले) बाट कञ्चनपुरका ६३ वर्षीय हिरा सार्की प्रदेश सभा सदस्य भएका छन् । भीमदत्त नगरपालिका -४ का बासिन्दा उहाँलाई एमालेले समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाएको हो ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) बाट ३४ वर्षीया लक्ष्मी विक प्रदेश सभा सदस्य भएकी छन् । उनी मालिकार्जुन गाउँपालिका -७ दार्चुलाकी हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलितको सहभागिता शून्य छ । यसैगरी, यो प्रदेशबाट प्रतिनिधि सभामा पनि दलितको सहभागिता शून्य रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update