Hamro Patra
मह काढ्न छाडेर मजदुरीतिर

टीकापुर, पौष ५

लोपोन्मुख राजी जातिका मानिस गुजाराका लागि जङ्गल र नदीनालामा चहार्दै मौरीको सिकार गर्दथे । दिनभरि जङ्गल घुम्दै मह सङ्कलन गर्ने र गाउँघरमै बिक्री गरेर जीवन गुजारा गर्ने राजी जातिको यो पेसा अहिले सङ्कटमा परेको छ ।

बुकबहादुर राजीले भने, ‘तर अचेल पहिलाको जस्तो मह पाइँदैन ।’ उनले भने, ‘केही सीमित ठाउँ र सिजनमा मात्रै मह पाइन्छ । त्यो बेला गाउँका १०/१२ जना मह काढ्न जान्छन् । बाँकी अरूले पेसा बदलिसके ।’

कैलालीमा सीमान्तकृत राजी समुदायको बसोबास छ । जङ्गलमा गएर मह काढ्ने उनीहरूको पुख्र्यौली पेसा हो । यो काम धेरै जोखिमपूणर् हुन्छ । समुदायको व्यक्तिको आकर्षण खेतीपातीलगायतका काममा बढ्दै जानुले मह काढ्ने परम्परागत पेसा छोड्दै गएको सो समुदायका व्यक्तिको भनाइ छ ।

भजनी नगरपालिका-९, भुरुवाका रामदेव राजीले भने, ‘अचेल कमै मान्छे मह काढ्ने काम गर्दछन् । धेरैजसोले यो काम छोडिसके ।’

तोरीको सिजनमा मह मीठो हुने र तराईमा बढी पाइने गरेको राजी समुदायका व्यक्तिको भनाइ छ । यो सिजनमा गाउँका गोले राजी, जाइलान, टक्कीलगायतका व्यक्ति कैलालीको कटासे क्षेत्र, कणर्ाली नदीकिनार, पहलमानपुर, मसुरिया क्षेत्रसहित बर्दियासम्म मह काढ्न जाने गर्दछन् । सिजनभरि उतै मह काढ्दै नजिकका गाउँमा बिक्री गर्ने गरिएको जनाइएको छ ।

बुकबहादुरले भने, ‘गाउँघरमा प्रतिकेजी छ सय रुपियाँमा मह बिक्री गर्छन् । त्यसैबाट गुजारा हुन्छ ।’

व्यावसायिक रूपमा मह काढ्ने काम गर्दै आएका राजीहरूले धेरैजसो अँधियामै मह काढ्ने काम गर्ने गरेको जनाइएको छ । सामुदायिक वन क्षेत्रमा मह काढ्दा आधा मह सामुदायिक वनले लिने गर्दछन् । त्यस्तै व्यक्तिको खेतमा रहेका रुखमा मह काढ्दा आधा मह खेतधनीले लिने गरेको जनाइएको छ । पहिले-पहिले सजिलै मह काढ्न पाइए पनि अहिले काढेको मह आधा-आधा भाग लाग्ने गरेकाले यो पेसातर्फ आकर्षण घट्दै गएको वडा सदस्य रामदेवको बुझाइ छ । यसैगरी यो पेसा निकै जोखिमपूणर् रहेको उनले बताए ।

उनले भने, ‘मौरीले टोक्दा रुखबाटै खस्ने डर हुन्छ । म पनि मह काढ्न जाने गरेको थिएँ तर मौरीले टोकेर एक दिन आफन्त बेहोसभ भए । त्यो बेलादेखि मैले पनि यो काम छोडेको छु ।’ मह बिक्री गरेर आम्दानी हुने गरे पनि मह काढ्ने काम निकै जोखिमपूणर् रहेको उनको बुझाइ छ । यसैगरी जङ्गलमा गएर गिठा, जङ्गली तरुल सङ्कलन गर्ने, नदीनालामा माछा मार्नेलगायतका कार्य पनि राजी समुदायले छोड्दै गएका छन् । जङ्गलमा अचेल गिठा र जङ्गली तरुल पाइनै छोडेको रामदेवले बताए ।

जल, जङ्गलमा आश्रित सीमान्तकृत यो समुदायका मानिस अहिले परम्परागत पेसा छोडेर अन्य कामतिर ध्यान दिन थालेका छन् ।

जीविकोपार्जनका लागि धेरैजसो मान्छे भारतमा काम गर्ने गरेको चक्र राजीले बताए । उनले भने ‘मैले पनि धेरै समय भारतमै बिताए ।’

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update