टीकापुर, पुस ६
हिउँद लागेसँगै कैलालीमा बाक्लो हुस्सुसहित शीतलहर लाग्न सुरु भएको छ । विहानको समयमा बाक्लो हुस्सुसहित शीतलहर चल्न थालेको हो ।
शीतलहर र हुस्सुका कारण यहाँ चिसो बढेको छ । हुस्सुले गर्दा घामसमेत राम्ररी लाग्न सकेको छैन । अरु दिनको तुलनामा आजबाट धेरै चिसो महसुस भइरहेको टीकापुर नगरपालिका वडा नं. १ की ललिता परियारले बताइन् । ‘अरु दिन भन्दा आजदेखि निकै चिसो बढेको छ, चिसोले विहानको समयमा घर बाहिर हिँडडुल गर्न गाह्रो छ’ उनले भने ।
चिसो बढेपछि बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिकलगायत प्रभावित भएका छन् । जाडो छल्नका लागि मान्छेहरु आगो ताप्न थालेका छन् ।
भारतको उत्तराखण्डदेखि सुदूरपश्चिमको आकाशमा हुस्सु बाक्लिएको जलवायुसम्बन्धी विज्ञ धर्मराज उप्रेतीको भनाइ छ । हुस्सुले थप चिसो बढ्दै गएको उनले बताए ।




