टीकापुर, पौष ७
पठन संस्कृति विकास गर्ने उद्देश्यले टीकापुरस्थित टीकापुर सामुदायिक पुस्तकालयका एक उत्कृष्ट पाठकलाई १० हजार नगद पुरस्कार दिइएको छ ।मंसिर महिनामा पुस्तकालयमा आई अध्ययन गर्ने विद्यार्थी उपेन्द्र चौधरीलाई नगद पुरस्कार दिइएको हो ।
टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी चौधरीलाई नगद र सम्मानपत्रसहित पुरस्कार दिएको हो । सरोकार समूहले टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो पुस्तकालयका उत्कृष्ठ अध्ययनकर्तालाई हरेक महिना १० हजार नगद सहित पुरुस्कार दिने अभियान थालेको सचिव नवराज भट्टराईले बताए ।
‘टीकापुर सरोकार समूहले टीकापुर क्षेत्रमा पठन संस्कृतिको विकास गर्न खोजेका हो’ उनले भने ‘पुस्तकालयमा सबैभन्दा बढी दिन आउने र बढी समय अध्ययन गर्ने एक पाठकलाई हरेक महिना उत्कृष्ठ पाठकका रुपमा पुरस्कार दिनेछौं, जसले गर्दा अध्ययनमा आम मानिसको समेत रुचि जगाउन सकिन्छ ।’
पुस्तकालयमा आयोजित एक कार्यक्रममा पुरस्कृत चौधरीलाई टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन सिंह लुहार विक र वरिष्ठ शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार दिएका हुन् ।
पुरस्कार वितरण गर्दै वडाध्यक्ष विकले अध्ययनले नागरिकलाई ज्ञान मिल्ने र ज्ञानले आत्मविश्वास बढाउने र मानिसको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने बताए । ‘अध्ययनले मानिसलाई उसको क्षमता र ज्ञानमा वृद्धि हुन्छ’ उनले भने ‘टीकापुर सरोकार समूह र पुस्तकालयले थालेको पठक संस्कृतिको अभियान सहनीय छ ।’
कार्यक्रममा टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी र टीकापुर सरोकार समूहका सचिव भट्टराईले पठन अभियानबारे धारणा राखेका थिए । मंसिर महिनाको पुरुस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको थियो ।




