Hamro Patra
तोरीखेतीप्रति कैलालीका किसान आकर्षित

टीकापुर, पौष ८

कैलालीमा तोरीखेतीप्रति किसानको आकर्षण बढेको छ । तोरीले मूल्य राम्रो पाएपछि तोरीखेतीमा कृषकको आकर्षण बढेको हो । गत वर्ष किसानले नौ हजारदेखि बाह्र हजार क्विन्टलसम्म तोरीको मूल्य पाएका थिए ।

घोडाघोडी नगरपालिका -१ का भगतराम चौधरीले सधैं गहुँखेती गर्दै आएकोमा यस वर्ष एक बिघा खेतमा तोरी लगाएका छन् । समयमै सिंचाइ र मल नपाउँदा गतवर्ष गहुँखेतीबाट घाटा व्यहोरेको अनुभव चौधरीसँग छ । ‘लगानीको हिसाब गर्दा जोताइको पैसा सात हजार घाटा भयो’ उनले भने ।

गहुँको तुलनामा तोरीखेतीबाट छिमेकीले राम्रो आम्दानी गरेको देखेपछि चौधरीले यस वर्ष आफूले पनि तोरी छरेको बताए । कैलालीमा ठूलो क्षेत्रमा तोरीखेती गर्नेलाई स्थानीय तहले मल, बीउ, कृषियन्त्र लगायतमा ५० प्रतिशत अनुदान दिन थालेको छ । यसले पनि तोरीखेतीप्रति थप आकर्षण बढेको किसानहरुको भनाइ छ ।

घोडाघोडी नगरपालिका -३ चौरठ्ठीका २५ जना किसानले समुहगत रुपमा तोरी खेती गरेका छन् । घोडाघोडी नगरपालिकाबाट तोरी पकेट क्षेत्रका रुपमा अनुदान लिएर उनिहरुले १५ बिघा जमिनमा तोरीखेती लगाएका छन् ।

पहेँलै भएर फुलेको तोरीको फाँट देखाउँदै सयपत्री महिला समूहका अध्यक्ष ज्ञानु चौधरीले सिंचाइको सुविधा नभएको हुनाले पनि यो वर्ष सामूहिक तोरीखेती गरेको बताए । ‘अहिले खेतमा तोरी राम्रो भएको छ, दुई जातको तोरी लगाएका छौं, उत्पादन राम्रै हुन्छ भन्ने आशा गरेका छौं’ खुशी हुँदै चौधरीले भने ।

घोडाघोडी नगरपालिकामा तोरीखेतीप्रति किसानको आकर्षण बढाउन वडा नम्बर ३ र ७ मा १५-१५ बिघा क्षेत्रफलमा तोरीखेती गर्नेलाई ५० प्रतिशत मल बीउ, औजारमा अनुदान दिएको बताइएको छ ।

घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामीले तोरीले मूल्य पाउनुका साथै गहुँभन्दा छिटो पाक्ने भएकाले तेस्रो खेतीका रुपमा मकै, मुङ खेतीसमेत गर्न पाइने भएकाले किसानको आकर्षण तोरीखेतीमा रहेको बताए ।

कैलालीमा आर्थिक वर्ष २०७४-७५ देखि तेलहन जोन परियोजना सञ्चालनमा छ । जोशीपुर, भजनी, जानकी, बर्दगोरिया र घोडाघोडी नगरपालिका तथा गाउँपालिकामा तेलहन जोनका कार्यक्रम लागु भएका छन् । परियोजनाका कैलाली प्रमुख गोविन्द जोशीले गत वर्ष युक्रेन र रुसको युद्धका कारण तोरी र तेलको मूल्य बढेको बताए । यस वर्ष किसानको आकर्षण तोरीखेतीमा बढेको हुनसक्ने उनले बताए । तेलहन जोन कार्यक्रमले तोरीखेती हुने क्षेत्रका किसानलाई बीउ, यान्त्रीकरणलगायतमा सहयोग गर्दैआएको जानकारी दिए ।

कैलालीमा करिब २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने बताउँदै जोशीले एक हेक्टर क्षेत्रफलमा सातदेखि दश क्विन्टलसम्म तोरी फल्ने उनले बताए । तोरी उत्पादनका लागि कैलालीमा खेतीयोग्य जमिन रहेको बताउँदै जोशीले यहाँको उत्पादनलाई ब्रान्डिङ गर्न तेल उत्पादन मिल सञ्चालनको तयारी भएको बताए ।

परियोजना प्रमुख जोशीले भने, ‘मिल सञ्चालनले कैलालीको तोरीको ब्रान्डिङ गर्नेछ भने तेलको आयात घटाउन र स्थानीय उत्पादनले बजार पाउनेछ ।’

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update