Hamro Patra
नागरिक उन्मुक्ति: संसदीय दलमा चार नेताको दाबी

टीकापुर, पौष ९

सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट दलको नेतामा चार जनाको दाबी रहेको छ । प्रदेश सभामा चौथो दल बनेको रेश्म चौधरी पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वको पार्टीमा चार जनाले दलको नेता बन्न दौडधुप गरिरहेका हुन ।

प्रत्यक्षतर्फ पाँच र समानुपातिक तर्फबाट दुई जना गरि सात जना प्रदेश सभा सदस्य रहेकोमा तीन जना दलको नेताको दौडधुपमा रहेको पार्टीले जनाएको छ ।

सो दलबाट कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट प्रत्यक्षतर्फ निर्वाचित रामेश्वर चौधरी, कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेताका आँकाक्षी हुन ।

लक्ष्मणकिशोर संगठन विभाग प्रमुख हुन भने कैलाश चौधरी उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष हुन् । पार्टीको संगठन विभाग प्रमुख हुनु र कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा २ मा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावललाई पराजय गरेका कारण पनि दलको नेता लक्ष्मण किशोर बन्ने सम्भावना रहेको छ ।

‘दलको नेता को बन्छ भन्नेबारे छलफल केही दिनमै अघि बढाएर टुङ्गो लगाउने तयारी गरिएको छ’ उनले भने -‘पद तथा गोपनियताको सपथ लिएसंगै छलफल गरेर दलको नेता सहमतिमा चयन गरिनेछ ।’

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ जना र समानुपातिकतर्फबाट २१ जना निर्वाचित भइसकेका छन् । प्रदेशमा प्रत्यक्षतर्फ नेपाली काँग्रेस १२ र समानुपातिक सात गरि १९, नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ तीन गरि ११, नेकपा एमालेबाट प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ सात गरि १०, नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई गरि सात जना निर्वाचित भएका छन ।

यस्तै, एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ तीन र समानुपातिक तर्फ एक गरि चार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ एक जना प्रदेश सभा सदस्य छन भने एक स्वतन्त्र उम्मेदवार प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य रहेका छन् ।

एकीकृत समाजवादी पार्टीबाट कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा १ बाट निर्वाचित दीर्घबहादुर सोडारी संसदीय दलको नेताको दौडमा रहेका छन ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update