Hamro Patra
जब गाउँमा दिउँसै बाघ घुम्न थाल्यो.......

टीकापुर पुस ९

कैलालीको वसन्ता कोरिडोर आसपासका गाउँमा दिउँसै बाघ डुल्न थालेपछि स्थानीय त्रसित भएका छन्। एक सातादेखि गाउँतिर बाघ बरालिएको देखिन थालेपछि कैलारी गाउँपालिका-७ र ५ का बासिन्दा त्रसित भएका हुन्। स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही दिनदेखि गाउँ, खेततिर देखिने गरेको छ। बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ।

मान्छेले खेतमा जाने क्रममा दिउँसै पनि बाघ देखेको कैलारी गाउँपालिका-७ का खेमराज चौधरीले बताए उनका अनुसार तीन दिनअघि मात्रै सोही वडाको विपत्पुरस्थित वन र कटैनी नदी क्षेत्रमा दिनभरि बाघ देखा परेको थियो । यसैगरी वसन्तास्थित उखुबारीमा पनि बाघ पुगेको बताइएको छ । ‘वसन्ता वन क्षेत्र नजिक बाघले एउटा छाडा गाई पनि मारेको थियो’ चौधरीले भने ।

खेत जाने क्रममा केही मान्छे झन्डै बाघसँगको जम्काभेटबाट जोगिएको जनाइएको छ । गहुँ सिँचाइका लागि खेतमा जाने क्रममा बाघ देखिएको थियो । उनीहरूले होहल्ला गरेपछि बाघ अन्यत्र गएको बताइएको छ ।

बाघको त्रास बढेपछि साँझ पर्नेबित्तिकै वसन्ता, रामपुर, भुइँयाफाँटा, बैजपुर, विपत्पुर, तिघरीलगायतका गाउँ सुनसान हुने गरेको स्थानीयले बताएका छन् । दुई दिनअघि मात्रै पलिया गाउँमा पनि बाघ देखिएको कुलराज चौधरीले जानकारी दिए । उनले भने ‘साँझबिहान बाघ देखा पर्न थालेपछि मान्छे त्रसित छन् । जङ्गलमा घाँस दाउरा गर्न जानेहरू सतर्क रहन आवश्यक छ ।’ उक्त बाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको स्थानीयले बताएका छन् । भारतको सीमावर्ती गाउँतिर पनि त्यो बाघ देखा परेको बताइएको छ ।

सीमावर्ती भारतीय गाउँ बेलापरसुवाका लल्लन कठरियाले आफ्नो गाउँको आसपास क्षेत्रमा पनि स्थानीयले बाघ देखेको बताउनुभयो। उहाँका अनुसार केही दिनअघि भारतको सम्पूणर्नगर नजिक रहेको मरौचा गाउँका एक १५ वर्षीय किशोरलाई बाघले मारेको थियो । त्यसपछि बाघ नरभक्षी भएको भन्दै भारतीय अधिकारीले सो बाघलाई सुध्रिनका लागि रेडियो कलर जडान गरेर दुधुवा नेसनल पार्कको सलुखापुर क्षेत्रमा छोडेका थिए ।

कठरियाले भने ‘त्यो बाघ दुधुवामा नबसी गाउँतिर आइरहेको छ । अहिले गाउँतिर देखा परिरहेको बाघ सम्भवतः त्यही नरभक्षी बाघ हो ।’ दुधुवा छोडिएको बाघ गाउँतिर आउन थालेपछि दुधुवा नेसनल आसपासका भारतीय गाउँमा पनि त्रास बढेको उनले जानकारी दिए । ‘यहाँ पनि गाउँ नजिकै खेतमा आएर गाईलाई मारेर खाएको छ’ कठरियाले भने ।

नरभक्षी भएको भनिएको बाघ गाउँघरतिर आएर बरालिन थाले पनि स्थानीय प्रशासनलगायत सरोकारवाला भने बेखबर छन् । एकचोटि मान्छे मारिसकेको बाघले फेरि मान्छेलाई मार्न सक्ने खतरा बढेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बाघका बारेमा केही थाहा नभएको बताए । ‘यो विषयमा हामीलाई कुनै जानकारी आएको छैन’ उनले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले बाघका कारण सम्भावित क्षति हुन नदिन भारतीय अधिकारी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जिल्ला वनसँग समन्वय भइरहेको बताए ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update