Hamro Patra
सेती अस्पतालमा थन्कियो सिटीस्क्यान उपकरण

टीकापुर, पौष ११

गत जेठको अन्तिम साता सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान आइपुग्यो । उपकरण आए लगतै सेवा सञ्चालन गर्ने अस्पतालले बताएको थियो । तर, उपकरण आइपुगेको ८ महिना वितिसक्दा पनि सेवा सुरु भएको छैन् । सेती प्रादेशिक अस्पतालमा खरिद गरिएको सिटीस्क्यान ८ महिनादेखि थन्क्याएर राखिएको छ । अस्पतालको नयाँ भवनमा सिटीस्क्यान जडान गरिएको र भर्खरै मात्र हस्तान्तरण भएकाले सञ्चालनमा ढिलाई भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डे बताउँछन् ।

‘उपकरण जडानको काम भर्खरै सक्किएको छ । प्राविधिक टोलीले उपकरण जाँच गरेर ठिक छ भनिसकेको छ । उपकरण जडानमा समय लागेकाले सेवा सञ्चालन गर्न नसकिएको हो । अब छिट्टै सेवा सुरू गर्छौँ ।’ सिटीस्क्यान आइपुगेको बढीमा एक महिनाभित्र प्रयोगमा ल्याउने मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले यसअघि नै बताएका थिए । तर उपकरण आइपुगेको ८ महिना वितिसक्दा पनि प्रयोगमा आएको छैन् ।

निर्माणाधिन भवनको काम समयमै नसकिँदा उपकरण जडान गरेर सेवा सञ्चालन गर्न समस्या भएको अस्पताल प्रशासनको दाबी छ । सिटीस्क्यान नयाँ भवनमा जडान गरिएको छ । भवनको काम भने पुरा भएको छैन् । साथै उपकरण सञ्चालनका लागि जनशक्ति नभएकाले पनि समस्या भएको अस्पतालको तर्क छ ।

भएका उपकरण अस्पतालले थन्क्याएर राख्दा बिरामीले भने महंगो शुल्क तिरेर निजी अस्पताल धाउन बाध्य छन् । उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसक्नुको कारण उपकरण चलाउने जनशक्ति नहुँनु नै रहेको अस्पतालले बताएको छ । तर, सिटीस्क्यान सञ्चालन गर्न जनशक्ति छनोटको काम भने भइसकेको छ । सेतीमा आउने बिरामीले सिटीस्क्यानका लागि निजी अस्पताल धाउनु पर्ने बाध्यता छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update