Hamro Patra
‘जेष्ठ नागरिकलाई घरमै भत्ता र उपचारको व्यवस्था मिलाइयोस्’

टीकापुर, पौष १२

टीकापुरकी एक सय वर्षीया पवित्रा खनाल हिँड्डुल गर्न सक्दैनन् । भत्ता बुझ्न बैंक आउन, उपचारका लागि अस्पताल जान उनलाई अरुकै साहारा चाहिन्छ । ‘बुढेसकालमा २० वर्षअघि भाँचिएको खुट्टाको दुखाइ अझै पनि छ’ उनी भन्छिन, ‘अहिले त म हिँड्डुल गर्न सक्दिनँ, बिस्तरामै थला परेकी छु, मलाई नि दुःख छ, बुहारीलाई पनि दुःख छ ।’

उनले आफूले पाउने वृद्धाभत्ता स्थानीय सरकारले घरमै ल्याइदिए हुन्थ्यो भन्ने कामना गर्छिन । भत्ता मात्रै होइन सामान्य उपचार गर्न अस्पताल धाउन नपरे हुन्थ्यो भन्ने उनको भनाइ छ । ‘भत्ता बुझ्न बैँक जान मलाई कसैले बोक्नुपर्छ, बिरामी हुँदा अस्पताल लैजान पनि बुहारीलाई गाह्रो हुन्छ’, उनले भने, ‘यी काम घरमै आएर गरिदिए राम्रो हुने थियो ।’

बुहारी चन्द्रादेवी खनाल पनि स्थानीय सरकारले यी सेवा घरमै दिन सके सहज हुने उताउछिन् । ‘सासुको स्याहार त गरिरहेका छौँ तर स्थानीय सरकारले पनि सहयोग गरे हुन्थ्यो भन्ने हो ।’, उनले भनिन, ‘बृद्धभत्ता बैंकमा आउँछ तर त्यो लिन पनि आफै जानुपर्छ ।’ त्यस्तै अर्की ज्येष्ठ नागरिक महिला विरमा न्यौपाने पनि सरकारले दिने भत्ता सहज भइदिए हुन्थ्यो भन्छिन् । ‘भत्ताको पैसा सबै उपचारमै जान्छ, हामी ज्येष्ठ नागरिकलाई अस्पतालमा लाइन लाग्न नपरे हुन्थ्यो भन्ने लाग्छ’, उनले भने ।

त्यस्तै ८५ वर्षीय अर्का ज्येष्ठ नागरिक जयसिँह धामीलाई पनि यस्तै समस्या छ । उनी पनि ज्येष्ठ नागरिकलाई सुविधा हुने काम स्थानीय सरकारले गरिदिए हुन्थ्यो भन्ने कामना गर्छन् । टीकापुर नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख चेतबहादुर बोहरा नगरपालिकाको ज्येष्ठ नागरिकलाई सम्मानलगायतका कार्यक्रम गरिरहेको बताए ।

‘भत्ता वितरणमा सहजताका लागि एक वडा एक बैंक नीति लिएका छौँ, अब हरेक वडामै भत्ता पाउने सुविधा भएको छ । अशक्तका विषयमा संरक्षकले पाउने व्यवस्थाका लागि छलफलमा छौँ’, उनले भने ‘पालिकाले थप सहजताका बारेमा पनि छलफल गरिरहेको छौँ । स्वास्थ्य सेवाका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना भएका छन् ।’

कैलालीको जानकी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यायो कपडा दिएर सम्मान गरेको छ । गाउँपालिकाले पालिकाभरिका एक सय आठजना ज्येष्ठ नागरिकलाई न्यायो कपडा दोसल्ला र मोजा दिएर सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले ज्येष्ठ नागरिक ज्ञानका खानी रहेकाले उनीहरुबाट धेरै सिक्न जरुरी रहेको बताए ।

‘हामीले सम्मानमात्र होइन, उहाँहरु सीप र ज्ञान पनि लिन जरुरी छ’, उनले भने, ‘ज्येष्ठ नागरिकलाई हरेक घरमा सुरक्षित वातावरण तयार हुनुपर्छ । सबैले ज्येष्ठ नागरिकको स्याहार गर्न आवश्यक छ ।’ उनले पालिकाले सम्मानसँगै आदरको संस्कारसमेत विकास गर्न खोजेको बताए । गाउँपालिकाका उपाध्यक्ष लालमती कठरियाले ज्येष्ठ नागरिकका लागि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले जीवनमा सहजता प्रदान गरिरहेको बताए । ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्दा उहाँहरुमा हौसला मिल्छ । थोरै भए पनि खुसी दिनका लागि यो कार्यक्रम गरिएको हो’, उनले भने, ‘अब उनिहरुका सानासाना समस्या समाधान गर्ने हो ।’ -रासस

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update