टीकापुर, पौष १३
कैलालीमा मङ्गलबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो ।
बिहानैदेखि शीतलहरसंगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण धनगढी लगायतका क्षेत्रमा घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छे सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।
चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको धनगढी उपमहानगरपालिका-८ की कलावती भट्टले बताए । ‘चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ’, आफ्नो बच्चालाई विद्यालय पठाउन जाने क्रममा बाटोमा भेटिएकी उनले भनिन्, ‘न्यानो कपडा नहुने बच्चाहरुलाई धेरै समस्या हुने भो ।’
चिसोले बालबच्चालाईमात्रै हैन ज्येष्ठ नागरिक पनि प्रभावित भएका छन् । बुढापाकालाई जाडो कटाउन धेरै समस्या हुने गरेको बताइन्छ । जाडो बढेको बेला बुढापाका घरभित्रै न्यानो भएर बस्नु उपयुक्त रहेको भट्टको सुझाव छ ।
जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासी जाडो बढेपछि मुक्त कमैया परिवार, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ । जाडोका कारण काम गर्न समस्या भइरहेको धनगढीमा नाली बनाउने काम गरिरहनु भएका मजदुर रामदुलार चौधरीले बताए । ‘जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ’, उनले भने । यसैगरी, गहुँ सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकी नसकी काम गर्न बाध्य छन् ।
चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या हुन सक्ने भएकाले चिसोबाट जोगिनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले बताए । उनले चिसोमा रोटा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने सम्भावना रहेको बताए । ‘त्यसैले चिसोमा बच्चा, वृद्धवृद्धाको एकदमै ध्यान दिनु पर्दछ’, उनले भने, ‘उनीहरुलाई चिसो लाग्नबाट जोगाउन आवश्यक छ ।’
चिसोबाट जोगिनका लागि न्यानो कपडा लगाउनु पर्ने, ननिस्कने जस्ता उपाय अपनाउन सकिने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी, तातो पानी र तातो झोलिलो पदार्थ खाएमा फाइदा हुने शर्माले बताए ।




