Hamro Patra
मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी, यसरी पुग्छ बहुमत

टीकापुर, पौष १४

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री दाबी गरेसंगै प्रदेशको सत्ता समिकरण रोचक मोडमा पुगेको छ । सत्ता समिकरणमा बहुमत रहेको यस प्रदेशमा उन्मुक्तिले जुन दलले मुख्यमन्त्री दिन्छ सोही दललाईको समर्थन गरेर अघि बढ्ने निणर्य गरेको हो ।

उन्मुक्ति पार्टीमा संसदीय दलका नेता बनेका रामेश्वर चौधरीले प्रदेशको मुख्यमन्त्रीको दौडमा आफु रहेको प्रतिक्रिया दिए ।

प्रदेश सभामा चौथो दल रहेको उन्मुक्तिले केन्द्रमा रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेकाको रिहाईको सर्त अघि बढाउँदै सत्ता समिकरणलाई समर्थन गरेको छ भने यस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ ।

उनले भने -‘यहाँको सत्ता समिकरण जस्तो पनि बन्न सक्छ । मुख्यमन्त्रीको प्रमुख दाबेदार म पनि रहेको छु ।’ दलका नेता सहित निर्वाचित सो पार्टीका अन्य प्रदेश सभा सदस्यहरुले पनि मुख्यमन्त्री उन्मुक्तिले पाउनुपर्ने दाबी गरेका छन् ।

‘हामी सत्ताको लोभमा नभई एजेण्डामा अघि बढेका छौं’ सो पार्टीका नेता रामेश्वरले भने -‘जहाँ पनि समर्थन गर्ने तर, केही नपाउने भएपछि अहिलेको समिकरणलाई सहयोग कति गरि राख्ने हो ?’ उनले यस प्रदेशमा आफनो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने प्रमुख दाबी रहेको बताए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ जना र समानुपातिकतर्फबाट २१ जना निर्वाचित छन् । केन्द्रको समिकरणका आधारमा यस प्रदेशमा बहुमत भएपनि उन्मुक्ति पार्टीले समर्थन नगरे मुख्यमन्त्रीका आकांक्षी व्यक्तिलाई विश्वासको मत पाउन कठिन हुने देखिएको छ ।

यस प्रदेशमा नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात र राष्ट्रिय प्रजातन्त्रका एक गरि २९ जना रहेका छन । यद्यपी उन्मुक्तिले मुख्यमन्त्री नपाएपछि सत्ता समिकरणमा सहयोग नगर्ने उन्मुक्तिबाट निर्वाचित प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले बताए ।

प्रदेशमा नेपाली काँग्रेसका १९, एकीकृत समाजवादी पार्टीका चार र एक स्वतन्त्र गरि २४ जना सत्ता समिकरणबाहिर रहेका छन् ।

नागरिक उन्मुक्ति निणर्ायक रहेको यस प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समिकरण बने पनि बहुमत प्राप्त गर्न सक्दैनन । नेपाली काँग्रेस, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रलाई समेटेर प्रदेशमा सत्ता समिकरण गराउँदा बहुमत पुग्ने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update