Hamro Patra
आज सपथ लिँदै सुदूरपश्चिममा प्रदेश सदस्यहरु

टीकापुर, पौष १५

मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रदेश सभाका सदस्यहरुले आज सपथ लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार सदस्यहरुले आज दिउँसो १ः३५ मा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार शुक्रबार दिउँसोका लागि शपथ ग्रहणको तायरी पूरा भएको हो । बोगटीले भने ‍‘प्रदेशसभाका सदस्यज्यूहरु आइसक्नु भएको छ । आज १ः०५ मा जेष्ठ सदस्य र अन्यलाई १ः३५ मा शपथ खुवाउने कार्यक्रम छ ।’

प्रदेश सभा सचिवालयका सचिव बोगटीका अनुसार प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट दिउसो १ ः०५ मा शपथ ग्रहण गर्ने छन् ।

प्रदेश प्रमुखको कार्यालयमा रावलले शपथ ग्रहण गरिसकेपछि दिउँसो १ः ३५ मा प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई रावलले शपथ ग्रहण गराउने छन् । शपथका लागि सभाहल व्यवस्थापन लगायतको तायरी पूरा भएको छ। प्रदेशसभा सदस्यहरुका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराउने व्यवस्था गरिएको छ।

नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली काँग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाका ६ जना सदस्य बाहेक अन्यले भने नेपाली भाषामा शपथ ग्रहण गर्नेछन्। शपथ ग्रहणपछि प्रदेश सभा सचिवालयले चियापान तथा बधाई ज्ञापनको कार्यक्रमसमेत राखेको छ।

सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशमा ३२ प्रत्यक्ष र २१ समानुपातिक गरेर ५३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update