Hamro Patra
छ वर्ष बित्दा पनि पाएनन् टिकापुरका घरधनीले मुआब्जा

टीकापुर, पौष १५

कैलालीमा लम्की टीकापुर खक्रौला सडकखण्ड अन्तर्गत टीकापुर-१ का करिब एक दर्जन घरधनीले छ वर्ष बित्दा पनि मुआब्जा पाएका छैनन् । सडक छेउछाउका जग्गाको मुआब्जा दिइए पनि घरको मुआब्जा नपाउँदा उनीहरू छ वर्षदेखि धनगढीस्थित हुलाकी राजमार्ग आयोजना कार्यालय धाउन बाध्य भएका छन् ।

विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयले टीकापुरका खुसीराम थारू, बुधराम थारूलगायत करिब एक दर्जन नागरिकको जग्गा र घरको मुआब्जा उपलब्ध गराइदिन हुलाकी राजमार्ग आयोजना कार्यालयलाई पत्राचार गरेको थियो । स्थानीयवासीले मुआब्जाका लागि धेरै दौडधुप गरेपछि जग्गाको मुआब्जा पाए पनि घरको मुआब्जा हालसम्म पाएका छैनन् ।

घरको मुआब्जाका लागि घरधनीले हुलाकी राजमार्ग आयोजनासँग पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै उनीहरूले टीकापुर नगरपालिकासँग हारगुहार गर्न २०७९ साल असार १७ गते निवेदन लेखेका थिए । खुशीराम थारू, बुधराम थारू, दुखराम थारू, नवराज पाण्डे, पहले साउद, सावित्रादेवी साउद र पहलबहादुर रावलले घरको मुआब्जा दिलाउन पहल गरिदिन नगपालिकासँग अनुरोध गरेका हुन् । सडक आयोजनाका कर्मचारीले प्रष्ट कुरा नगर्ने र दिन्छु-दिन्छु मात्र भन्ने गरेको नवराज पाण्डेले बताए । ‘मैले घरको मुआब्जासहित रकम लिने भनेर जग्गाको मुआब्जासमेत लिएको छैन’, पाण्डेले भने, ‘घरको मूल्याङ्कन गर्न आएका छैनन्, कतिपयको बरण्डा अहिले नै जान्छ ।’ उनले पटक-पटक धाउदा पनि सम्बन्धित निकायले नागरिकको समस्या नबुझ्नु दुःखद् हो भने ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update