Hamro Patra
कैलालीमा लागूऔषध बिक्रीवितरणमा संलग्न ६ वटा संगठित गिरोह पक्राउ, ‘चेन ब्रेक’ गर्न प्रहरीलाई चुनौति

टीकापुर, पौष १५

कैलालीमा पछिल्लो समय लागूऔषध सेवनका कारण ज्यान जाने, बेपत्ता हुने र प्रहरीले पक्राउ गर्ने गरेका धेरै घटना सार्वजनिक हुने गरेका छन् । पक्राउ परेका अधिकांश १४ देखि ३५ वर्ष उमेरका बढी छन् । कैलालीमा मात्र औसतमा दैनिक दुई जना युवायुवती लागूऔषधसहित पक्राउ पर्ने गरेका हुन् ।

यो संख्या निरन्तर बढिरहेको छ । पछिल्लो समय सहरीभन्दा ग्रामीण क्षेत्रका युवायुवती लागूऔषध सेवन र ओसारपसारमा लागेको देखिएको छ । पक्राउ परेकामध्ये अधिकांश ग्रामीण भेगमा बसोबास गर्ने परिवारका किशाोरकिशोरी र युवायुवती रहेको प्रहरी तथ्यांक छ । लागुऔषध सेवन र बिक्रीवितरणमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्दै आएपनि नियमन गर्न चुनौति नै भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । ‘लहैलहमा लागेर लागुऔषधको कुलतमा किशोरकिशोरी र युवायुवती फस्दै गएकाले यसमा अभिभावक बढी सचेत बन्नुपर्ने देखिन्छ ।’

किशोर उमेरदेखि नै लागूऔषध प्रयोग गर्नेको संख्या निरन्तर बढिरहेको छ । कैलाली कारागारमा सबैभन्दा बढी लागूऔषध मुद्दाका कैदीबन्दी छन् । जिल्लामा गत आर्थिक वर्षमा मात्र ३ सय ३५ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको पौष दोस्रो सातासम्म यो संख्या गतवर्षकै हाराहारीमा पुगिसकेको छ ।

विद्यालय उमेर पार गरेका तर विद्यालय उमेरदेखि नै कुलतमा फसेका युवायुवतीको संख्या पनि उत्तिकै छ । सुरुमा कुलतमा फस्ने, बिस्तारै सीमापारिका कारोबारीका क्यारियरका रूपमा काम गर्नेको संख्या निकै बढी छ । ग्रामीण क्षेत्रमा अवैध रूपमा सञ्चालन भएका औषधि पसल, चिकित्सकको अनुमतिबिना औषधि बिक्रीवितरण गर्ने मेडिकल व्यवसायी र सीमाक्षेत्रका भारतीय बजारमा सहज रूपमा लागूऔषध पाइने गरेको सरोकारवाला बताउँछन् ।

पछिल्लो समय पुरुषसँगै लागुऔषध सेवन र बिक्रीवितरणमा महिलाको संख्या पनि उच्च हुँदै गएको लागुऔषध नियन्त्रण अभियानमा सक्रिय गोपाल जोशी बताउँछन् । ‘लागुऔषध सेवन र बिक्रीवितरण अहिलेकै अवस्थामा बढ्दै जाने हो भने केहि समयपछि यस्तो कुलतमा पुरुषभन्दा महिला कयौँ गुणा बढि भएको देख्न पाइनेछ ।’ कैलाली प्रहरीले लागूऔषध बिक्रीवितरण गर्ने ६ वटा संगठित गिरोहलाई पक्राउ गरेको छ। प्रहरीले कारोबारमा संलग्न रहेका ९ वटा गिरोहको पहिचान गरी ६ वटा गिरोह पक्राउ गरेको हो । ३ वटा गिरोह अझै पनि पक्राउ पर्न सकेका छैनन् । सीमापारि लागूऔषध कारोबारमा संलग्नहरूको क्यारियरका रूपमा काम गर्दै पछि गएर आफैं डिलर भएर बिक्रीवितरण गरिरहेका ६ वटा गिरोहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कैलालीमा लागुऔषध नियन्त्रण गर्न मापदण्डअनुसार चिकित्सकीय पद्धति र काउन्सिल दुवै गर्न सक्ने गरी सरकारी सुधार गृहको आवश्यकता देखिएको जिल्ल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी जोशी बताउँछन् । खुल्ला सीमा नाका, बेरोजगारी, परिवारको बेवास्ता लगायतका कारण युवाहरु लागुऔषधको लतमा फस्ने गरेका प्रहरीले जनाएको छ । लागुऔषध सेवन गर्नकै लागि पहिलो प्रयोगकर्ताले साथी थप्दै जाँदा कैलाली-कञ्चनपुर लागुऔषधको अखडा बन्न थालेको प्रहरीले बताए ।

एक जना सेवनकर्ताले आर्थिक स्रोत जुटाउनका लागि ५ जनालाई उक्त दुव्र्यसनमा संलग्न गराउँदै आएका छन् । यसरी नै ५ जनाले २५ लाई जोडिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । जिल्लामा लागुऔषधका प्रयोगकर्ताको संख्या वृद्धि हुँदै आएकाले समुदायबाट प्रयोगकर्ता बाहिर ल्याउने र सुधार केन्द्रमा राख्ने नीति स्थानीय तहको छ। आर्थिक वर्ष २०७६/७७ मा कैलालीबाट एक सय ६१ जना लागुऔषधका प्रयोगकर्ता प्रक्राउ परेका थिए । त्योबेला जिल्लामा ९८ ओटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा भने त्यो संख्या केही घटेको देखिएको छ । उक्त आर्थिक वर्षमा ९१ मुद्दा दर्ता भएका थिए भने एक सय ३२ जना पक्राउ परेका थिए । तर, चालु आर्थिक वर्षमा पक्राउ पर्ने तथा मुद्दाको संख्या ह्वातै बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update