टीकापुर, पुस १६
टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तिब्र पारेको छ । टीकापुरस्थित खुला मैदानमा यही माघ ४ गतेदेखी १५ गतेसम्म महोत्सव सञ्चालन हुँदैछ ।
२०६५ सालदेखी निरन्तर सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण विगत दुई वर्ष यता सञ्चालन हुने सकेको थिएन । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने तयारी भैरहेको अध्यक्ष चक्रपाणी सापकोटाले बताए ।
करिव २०० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै अटोमोवाईल्स लगायतको प्रर्दशनी रहनेछ । करिव ७० प्रतिशत स्टल बुकिङ भैसकेको स्टल संयोजक बमबहादुर ओलीले जानकारी दिए ।
महोत्सवस्थल भित्र यसवर्ष पनि थारु गाउँ समेत निर्माण गरिने भएको छ । थारु गाउँ भित्र थारु भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने साँस्कृतिक संयोजक तपेन्द्र कुँवरले जानकारी दिए ।
यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती समेत रहनेछ । महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत सञ्चालन हुने संयोजक कुँवरले बताए । उनले विद्यार्थीहरुको क्षमता प्रदर्शनका लागि नृत्य प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।




