टीकापुर, पौष १७
कैलालीमा वन अतिक्रमण गरेर निर्माण गरिएका घर-टहरा भत्काइएको छ ।
जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ मा रहेको जनज्योति सोनिया सामुदायिक वन क्षेत्रमा निर्माण गरिएका १६१ टहरा भत्काइएका हुन्। भजनी नगरपालिका क्षेत्रका बाढी पीडितको नाममा सामुदायिक वनको क्षेत्र अतिक्रमण गरेर घर-टहरा निर्माण गरिएका थिए।
वर्षातको समयमा कान्द्रा नदीमा आएको बाढीबाट उनीहरु पीडित भएका थिए। वर्षाको समयमा वन क्षेत्रमा निर्माण गरिएको घर-टहरा शनिवार हटाइएका सामुदायिक वनका अध्यक्ष सुरेश चौधरीले बताए। वर्षामा थोरै टहरा निर्माण गरिएको भएपनि पछि बढेका चौधरीले बताएका छन्।
सब डिभिजन वन कार्यलय पचमुडीया, कैलालीले अतिक्रमीत वन क्षेत्र खाली गर्न ७ दिनको सूचना सार्वजनिक गरेको थियो। सब डिभिजन वन कार्यलय पचमुडिया प्रमुख सहायक वन अधिकृत नितेशराज भट्टराईले अतिक्रमण गरि बनाएको घर-टहरा सामुदायिक वनबाट हटाउनका लागि सूचना दिदा पनि अटेरी गरेकाले शनिवार डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुलप्रशाद रिजालको नेतृत्वमा सशस्त्र वन रक्षक, वन कर्मचारी र नेपाल प्रहरीको सयुक्त समूहले टहरा हटाएको बताए ।




