Hamro Patra
कैलालीको भजनीमा सहरी स्वास्थ्य केन्द्रको भवन अलपत्र

टीकापुर, पौष १९

कैलालीको भजनी नगरपालिका-३ को सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो ।

निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ । हुलाकी सडकको उचाइभन्दा कम उचाइमा निर्माण भएको भवन बाढी र डुबानको जोखिममा रहँदै आएको जनाइएको छ । प्राविधिकको कमजोरीका कारण भवन निर्माण गर्दा ध्यान नपुर्‍याएका कारण समस्या आएको स्थानीय रामबहादुर चौधरी बताए ।

‘भवन निर्माण भयो । जहाँ बस्ती नै छैन त्यो ठाउँमा । त्यो पनि वर्षायाममा डुबान हुने ठाउँमा’, उनले भने, ‘बाढी आयो भने हुलाकी सडक डुब्छ भन्ने थाहा हुँदाहुँदै गहिरोमा भवन निर्माण नहुनुपर्ने हो, त्यो भयो । अब नगरपालिकाले सञ्चालनमा ल्याउन सक्नुपर्थ्यो ।’ सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण हुँदा पनि स्थानीयवासीले विरोध गरेका थिए ।

त्यो ठाउँमा भवन उपयुक्त छैन भन्दै विवादका बीच भवन निर्माण भएको थियो । विवादका बाबजुद पनि नगरपालिकाले भवनको स्वामित्व लिइसकेको छ । नगरपालिका भने भवनको लागत अनुमान नै त्यस्तै भएको दाबी गर्छ । नगरपालिकाका इञ्जिनियर अनिश श्रेष्ठले स्वस्थ्य केन्द्रको भवन निर्माण भएको क्षेत्रमा नभई वडा नं ३ को कार्यालय नजिकै कान्द्रा नदी किनारमा निर्माण हुने गरी ‘डिजाइन’ भएको बताए ।

‘पहिले कान्द्रा नदीको किनारमा रहेको खाली ठाउँमा सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण गर्ने कुरा थियो । पछि नदीका कारण भवन जोखिममा पर्नसक्ने जनाउँदै त्यहाँ भवन निर्माण नगर्ने कुरा भयो । अन्तिममा एक जनाले जग्गा दान गर्छु भनेर जग्गा दान दिएपछि पुरानो ठाउँबाट उक्त भवनलाई नयाँ ठाउँमा सारिएको हो’, उनले भने ।

उनका अनुसार डिजाइन लागत अनुमानभन्दा भवनको उचाइ निकै बढाइएको छ । भवनको उचाइ दुई फिटभन्दा बढी उठाएर निर्माण गरिएको इञ्जिनियर श्रेष्ठको दाबी छ । उनले एक ठाउँमा भएको लागत अनुमानलाई अर्को स्थानमा स्थानान्तरण गर्दा केही भाग गहिरोमा परेको बताए ।

रु ४३ लाख ९१ हजार सात सय ६० बजेटमा ४१ लाख २१ लाख आठ सय ८५ निर्माण कम्पनीलाई नगरपालिकाले भुक्तानी गरेको छ । लागतमा निर्माण भएको उक्त भवनको काम २०७८ पुस २८ गते सम्पन्न भइसकेको थियो । कन्स्ट्रक्सनले निर्माण गरेको सहरी स्वस्थ्य केन्द्रको भवन निर्माणका लागि सङ्घीय स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट व्यवस्था गरेको इञ्जिनियर श्रेष्ठको भनाइ छ ।

‘वडा नं ३ र ४ मा दुईवटा सहरी स्वस्थ्य केन्द्रको भवन निर्माणका लागि रु एक करोड बजेट आएको थियो । यसैअनुसार भवन निर्माण भएर वडा नं ४ को सञ्चालनमा आइसकेको छ’, उनले भने, ‘वडा नं ३ को भने बाढीको डुबानको समस्याले नभई विद्युत् लाइन नपुग्दा सञ्चालनमा ल्याउन नसकिएको हो ।’ भवनको बाहिरी भागमा माटो पटानीको कामसमेत हुनसकेको छैन ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update