Hamro Patra
बलात्कार आरोपीलाई कारवाहीको माग गर्दै प्रदर्शन

टीकापुर, पुस २०
टीकापुर नगरपालिका–५ नुक्लीपुरकी नौ वर्षीया बालिकाका आफन्तले विरोध प्रदर्शन गरेका छन । प्रदर्शनका क्रममा उनीहरुले बालिकालाई बलात्कार गर्ने स्थानीय प्रेम शाहीलाई कानूनी कारवाहीको माग गरेका छन ।

नारा जुलुस सहित सयौंको संख्यामा नुक्लीपुर गाउँबाट आएका पीडित बालिकाका आफन्तले टीकापुर बजारमा प्रदर्शन गरेका छन । उनीहरुले स्थानीय खड्ग चोकमा पुगेर कोणसभाका साथै इलाका प्रहरी कार्यालयको गेटमा समेत धर्ना दिएका छन ।

शाहीले बालिकालाई पुस १५ गते साँझ साढे पाँच बजेतिर केराबारीमा बलात्कार गरेको आफन्तको दावी छ । आफन्तले प्रहरीको लापरवाहीका कारण बलात्कारमा संलग्न शाही फरार भएको आरोप लगाएका छन । उनीहरुले समयमै स्थानीय सुक्लीपुर प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले शाहीलाई पक्राउ गर्न चासो नदिएको बताएका छन ।

‘हामीले घटना लगत्तै प्रहरी चौकीमा पुगेर जानकारी दिएका थियौं’ पीडित बालिकाका माइला बुबाले भने –‘प्रहरीले प्रमाणका लागि फोटो खिचेर ल्याउ भनेर गैरजिम्मेवार जवाफ दियो ।’

उनले बालिकाको शरीरका विभिन्न ठाउँमा चोटपटक रहेको बताए । उनका अनुसार घटना पछि बालिका अहिले पनि अपरिचित मान्छे देख्दा तर्सिने गरेकी छन ।

सो दिन शाही बालिकाको घरमा केरा किन्न गएका थिए । उनी केराको चिप्स बनाउने व्यवशाय गर्छन । उनीसँगै उनकी श्रीमती र छोरा समेत पुगेका थिए । श्रीमती र छोरा भने केही समयमै फर्किएका थिए ।

बालिकाकी आमाले नै उनलाई शाहीसँग केराबारीमा पठाएकी थिईन । छोरी लामो समयसम्म घर नफर्केपछि उनकी आमा केराबारी पुगेकी थिईन । केराबारी पुग्दा आमाले छोरीलाई नग्न अवस्थामा भेटेकी थिईन । बालिकाकी आमालाई देखेर शाही भने फरार भएका थिए ।

‘यदि समयमा आमा नपुगेको भए बालिकाको ज्यान समेत जान सक्थ्यो’ माईला बुबाले भने –‘सायद भगवानले साथ दिए । छोरीको ज्यान जोगियो ।’

उनले केराबारीबाट फरार भएका शाही घर पुगेको बताए । स्थानीय शाहीको घर पुग्दा उनी घर भित्रै थिए । केही समय पछि भने उनी रिक्सा चढेर भागेका थिए । प्रहरीका अनुसार उनी अहिले पनि फरार छन । शाहीलाई भाग्न सहयोग गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ती मध्ये एकजना रिक्साचालक समेत छन ।

बालिकालाई आफन्तले उपचारका लागि राति १० बजे टीकापुर अस्पताल पुर्याएका थिए ।

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update