Hamro Patra
टीकापुर जेसीजको २५औं शाखा अधिवेशन सम्पन्न

टीकापुर, पौष २२

जेसीजमा आवद्ध युवाहरुले सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुपर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनारले बताएकी छन् । टीकापुर जेसीजको २५औं शाखा अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुनारले सो कुरा बताएकी हुन् ।

‘व्यक्तित्व विकासका माध्यमबाट समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता जेसीजमा छ’ प्रदेश सभा सदस्य सुनारले भनिन् ‘संस्थाको विकास र क्षमता अभिवृद्धिका लागि हामी सक्दो सहयोग गर्नेछौं ।’

कार्यक्रममा बोल्दै टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष मोहनसिंह लुहार वि.क.ले सामाजिक रुपान्तरणको अभियानमा सहकार्य गरिने बताए । ‘सामाजिक रुपान्तरणका लागि जेसीज युवाहरुको महत्वपूणर् भूमिका हुन्छ’ अध्यक्ष वि.क.ले भने ‘यसमा हामी हाम्रोतर्फबाट सहकार्य गर्न तयार छौं ।’

टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष कीर्तिसिंह बम, श्यामराज पाण्डे, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, समाजसेवी चेतमान खत्री, निवर्तमान अध्यक्ष लक्ष्मण थापालगायतले बोलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update