टीकापुर, पुस २५
भारतको लखनउमा भएको बस दुर्घटनामा मृत्यु भएका तीनै जना नेपालीको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो दुर्घटनामा तीन नेपाली र एक बसचालक भारतीय नागरिक गरी चारजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउँद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेद जोशीले जानकारी दिए । उनका अनुसार भारतीय नागरिक बसचालकको भने सनाखत हुन सकेको छैन ।
सो दुर्घटनामा परेर घाईते भएका टीकापुर नगरपालिका–१ का ३५ वर्षका हरि साउँदको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २५ वर्षका दिपक सुनारको अवस्था मध्यम र अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्षक जोशीले जानकारी दिएका छन ।
भारतको गुजरातबाट हिजो नेपालको टीकापुरतर्फ आईरहेको आरजे २७ पिए ५७०३ नम्बरको बस लखनउ नजिकै राति दुर्घटना भएको थियो । सो बससँग मिनी ट्रक ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
बसमा ६६ जना यात्रु रहेको बताईएको छ । भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छन ।




