Hamro Patra
सुदूरपश्चिममा सभामुख चयन अनिश्चित, बैठक समेत बस्न सकेन

टीकापुर, पौष २९

सुदूरपश्चिममा सभामुख चयन गर्ने काम अनिश्चित बनेको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक समेत स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्म बैठक स्थगित भएको सूचना टाँस गरेको हो ।

आज बिहान ११ बजे सभामुखको पुनः निर्वाचन गर्ने गरी विहिबार साँझको बैठक स्थगित भएको थियो । प्रदेशसभाको सभामुख पदका लागि बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेकाले सभामुख निर्वाचन हुन सकेको थिएन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा बैठकमा भएको निर्वाचनमा ५० जना मतदानमा सहभागी भएका थिए ।

त्यसमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीमबहादुर भण्डारीको पक्षमा २६ मत खसेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए । सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य शिवराज भट्टले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत नपुगेकाले दुवै प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका भण्डारीको पक्षमा माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति (७) र राप्रपाका एक सांसदको समर्थन थियो । त्यस अनुसार उनले २९ मत पाउनुपर्ने थियो । उनको मतदानमा दुई सांसद अनुपस्थित र एक मत बदर भएको थियो ।

नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र एमाले सांसद चक्र मल्ल मतदानमा सहभागी भएनन् । एक मत बदर भएको थियो । कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएका मानबहादुर रावलले २३ मत पाएका थिए । उनलाई कांग्रेस (१८), एकीकृत समाजवादी (४) र स्वतन्त्र (एक) सांसदको समर्थन थियो । जेष्ठ सदस्यले बैठक शुक्रबार बिहानसम्मका लागि स्थगित गरेका थिए । तर अहिलेसम्म सभामुख चयनको प्रक्रिया भने अन्योलमै छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update