Hamro Patra
सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

टीकापुर, माघ ३ 

सुदूरपश्चिम प्रदेशको सभामुखखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य भण्डारी तेस्रो पटक गरिएको निर्वाचनमा प्रदेशको सभामुखमा निर्वाचित भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यहरुले भण्डारीको पक्षमा मतदान गरेपछि उनी सभामुखमा निर्वाचित भएका प्रदेश सभा सचिवालयले जनाएको छ । उनले २९ मत पाएका हुन् । ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गरेका छन् ।

काँग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन् । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक-एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।

३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी थिइन् ।
सुदूरपश्चिममा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update