Hamro Patra
टीकापुर महोत्सव २०७९ शुरु

टीकापुर, माघ ४

कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठले टीकापुरमा सामाजिक सद्भाव कायम रहेको बताएकी छन् । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को एक समारोहका बिच उद्घाटन गर्दै श्रेष्ठले सो कुरा बताएकी हुन् ।

‘खड्गबहादुर सिंहले स्थापना गरेको, थोमम बर्गिस गुरुको शिक्षा प्राप्त, मदन पुरस्कार विजेता महेशविक्रम शाह र रेशम चौधरीलाई जन्माउने यो माटो सधै सद्भाव चाहन्छ’ श्रेष्ठले भनिन् ‘टीकापुरमा हिजो पनि सद्भाव थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’

२०७२ सालको टीकापुर घटना राजनीतिक घटना भएको बताउँदै उनले यसको उचित निकासका लागि आफूहरु लागि परेको बताइन् ।

संघले राखेको मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस क्षेत्रको विकास निर्माणमा एकजुट भएर लाग्न समेत उनले आग्रह गरिन् ।

महोत्सवका प्रमुख अतिथि एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष समेत रहेकी श्रेष्ठसमक्ष टीकापुर उद्योग वाणिज्य संघले ८ बुँदे माग राखेको छ ।

यस्ता छन् मागहरु :
१) टीकापुरस्थित हवाई मैदान यथाशक्य सञ्चालन ।
२) सत्ती भन्सार कार्यालयमा क्वारेन्टाईनको स्थापना ।
३) केराको पकेट क्षेत्र स्थापना ।
४) कर्णाली नदी व्यवस्थापन ।
५) नेपाल आयल निगमको डिपो कार्यालय स्थापना ।
६) यातायात कार्यालय स्थापना ।
७) चिसापानी–कुईने–जंगलघाट सडक कालोपत्रे ।
८) टीकापुरमा औद्योगिक क्षेत्र स्थापना ।

संस्थापकसहित ८ जना सम्मानित

संघको आयोजनामा भएको कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल सम्मानित भएका छन् ।

२०४२ सालदेखि टीकापुर व्यापार संघको अध्यक्ष, कैलाली उद्योग वाणिज्य संघको टीकापुर शाखाका अध्यक्ष एवं टीकापुर उद्योग वाणिज्य संघको स्थापना गरी यस क्षेत्रको व्यापार व्यवसाय लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै संघले संस्थापक अध्यक्ष रिमाललाई सम्मान गरेको हो ।

त्यस्तै शिक्षा विधाबाट निवृत्त शिक्षक महेन्द्रसिंह बम, फुटबल खेलाडी एवं प्रशिक्षक गजेन्द्रबहादुर शाही, गायक गणेशबहादुर साउँद, कृषक देवीराम कोइराला, व्यवसायी गुमानसिंह हिमाल, स्वास्थ्यकर्मी बलबहादुर रावल, संरक्षणकर्मी विजयराज श्रेष्ठलाई समेत संघले सम्मान गरेको छ ।

माघ १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा भोलिदेखि विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

२०६५ सालदेखी निरन्तर सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण विगत दुई वर्ष यता सञ्चालन हुने सकेको थिएन ।
महोत्सवमा थारु गाउँ, विज्ञान, कृषि प्रदर्शनी लगायतका विभिन्न २ शय बढी स्टलहरु रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update