Hamro Patra
टीकापुर महोत्सवको दोस्रो दिनः बाल गायक सुप्रिम मल्लले तताए दर्शक

टीकापुर, माघ ५

बिहीवार मध्यान्ह् साढे तीन बजे, टीकापुर महोत्सव स्थल दर्शकहरुले खचाखच थियो । अन्य कलाकारहरुले प्रस्तुती दिइरहँदा दर्शकदिर्घाबाट चर्को आवाज आयो । उद्घोषक कोष खड्काले सायद संकेत बुझे । महोत्सवमा पुगेका बालगायक सुप्रिम मल्ललाई मञ्चमा बोलाउन दर्शकले होहल्ला गरेका थिए ।

हातमा माइक समाउँदै सुप्रिम जब मञ्चमा आए, दर्शकदिर्घाबाट तालीको पर्रा छुट्यो । ‘नमस्ते टीकापुर, सञ्चै हुनुहुन्छ, खाना खानुभो ?’ सुप्रिम लजाउँदै तत्काल सुधारे ‘नास्ता खानु भो ?’ उनको प्रस्तुतीले दर्शकदिर्घामा हाँसो छुट्यो । लजालु स्वभावका उनले परान बाँकी छ बोलको गीत गाउँदै दर्शकलाई तताए ।

आज पनि मै माथि फर्जी भो,
ईश्वरले खै के के मर्जी भो
दोबाटोमा ढुकीढुकी,
सिधैं आँखा जुधाईस्यो न नहेरिस्यो लुकीलुकी

आफ्नो नयाँ आउने गीतको टुक्का सुनाउँदै उनले दर्शकलाई सोधे ‘कस्तो छ ?’ दर्शकबाट हुटिङ्ग आयो ।

हिमाल जलेर आगो होस्,

मरुभूमिमा हिउँ परोस्,

शिर काटियोस् राजी हुन्छु, 

बरु पराणै पखेरु उडोस्,

इन्द्रेणीले रंग फेरोस्, सागर उसै सुकिजाओस्.........

आफ्नो निकै चर्चित गीत जब उनले सुनाए दर्शकहरुले भरपुर मनोरञ्जन लिए । उनको प्रस्तुती हेरेर रमाएका दर्शकले उनलाई मञ्चबाट भुइँमा ओर्लाए ।

दर्शकको आग्रहलाई स्वीकार्दै उनी मैदानमा आउँदा उनीसँग हात मिलाउनको तछाडमछाड चल्यो । सानै उमेरमा आफ्नो जादुमयी स्वरबाट दर्शकको मन जित्न सफल सुप्रिमलाई हेर्न साना बालबालिका, वृद्धवृद्धाहरुको लर्को लागेको थियो ।

विहीवारको कार्यक्रममा स्थानीय कलाकारसहित मनिष खड्का, हेमराज अधिकारी खन्ट्याखलास, भीम विष्ट अछामी रेखा, देउडा गायक माया पाण्डेले प्रस्तुती दिएका थिए ।

महोत्सवका साँस्कृतिक संयोजक तपेन्द्र कुँवरका अनुसार शुक्रवार लालबहादुर धामी अछामी बड्डो, लक्ष्मी आचार्य, माधवी घर्तीमगर लगायतको प्रस्तुती रहने छ ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update