Hamro Patra
वर्षा भएपछि सुदूरपश्चिमका किसान उत्साहित

टीकापुर, माघ ११

सुदूरपश्चिममा सोमवार रातिदेखिको वर्षाका कारण किसान उत्साहित भएका छन् । प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा वर्षा भएपछि किसान उत्साहित भएका हुन् । किसानले लगाएको गहुँ तथा अन्य बाली वर्षाका कारण सप्रने भएपछि किसान खुसी भएका छन् ।

प्रदेशका कैलालीसहित डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बाजुरा लगायतका जिल्लाका किसानले लगाएको गहुँ बालीका लागि हिउँदे वर्ष अमृत सरह भएको कृषि निर्देशनालयका निमिक्त निर्देशक यज्ञराज जोशीले बताए । उनले वर्षाले सुक्न थालेको गहुँलाई राहत गर्ने बताए । उनले भने, ‘यो वर्षाले किसानले लगाएको बालीमा राम्रो गरेको छ । सिँचाई नगरेको क्षेत्रमा राम्रो हुन्छ । सिँचाई गरेको ठाउँको गहुँमा भने समस्या हुन सक्छ । अन्य बालीहरुमा पनि हिउँदको वर्षाले राहत गर्छ।’

सिँचाई गरिएको गहुँ तथा खल्ला क्षेत्रको खेतमा लगाएको गहुँमा भने हिउँदे वर्षाले क्षति गर्ने देखिएको छ । उच्च तथा सुख्खा क्षेत्रको गहुँलाई भने यो वर्षाले राम्रो गर्ने जोशीले बताए । गत भदौ अन्तिम साताबाट सुदूरपश्चिममा वर्षा नहुँदा गहुँ उत्पादन घट्ने भन्दै किसान चिन्तित भएका थिए । तर, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै प्रदेशभर वर्षा हुँदा सिँचाइ सुविधाबाट बञ्चित किसान सबैभन्दा बढी खुसी भएका हुन् ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update