Hamro Patra
११ किलो चरेशसहित चार जना पक्राउ

टीकापुर, माघ १७

कैलालीमा ११ किलो ९ शय ग्राम लागुऔषध चरेशसहित चार जना पक्राउ परेका छन् । मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नं. ३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामी सहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले दार्चुलाको नौगाड गाउँपालिका वडा नं. २ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका वडा नं. ७ का ४२ वर्षीय धन बहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका वडा नं. २ का ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जोशीले बताए ।

उनीहरुबाट ११ किलो नौँ शय ग्राम चरेश, १ थान डिजिटल काँटा समेत बरामद गरिएको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update