Hamro Patra
गौशालामै गाई भोकै

टीकापुर, माघ २२

टीकापुर नगरपालिका वडा नं. २ मा बनाइएको गौशाला व्यवस्थित नहुँदा यहाँ थुनिएका गाई स्याहार नपाएर मर्न थालेका छन् । नगरपालिकाले लाखौँ रुपियाँ लगानी गरे पनि गाईले खान पाएका छैनन् ।

गौशालामा करिब आठ शय गाई थुनिएका छन् । तीमध्ये छ शय जति गाई दैनिक रूपमा जङ्गल लगेर डुलाउने गरिएको छ भने दुई शय जति थुनेरै राखिएका छन् ।

गाउँबाट धपाएर ल्याएका गाईगोरुलाई केही दिन थुनेर राख्ने र दुब्लाएर कमजोर भइसकेपछि जङ्गलतिर लैजाने व्यवस्था मिलाएको छ । भर्खरै ल्याएका गाईगोरुलाई जङ्गल लैजाँदा भाग्ने भएकाले अलिअलि पराल खुवाएर थुनिराख्ने गरिएको गोठालाको भनाइ छ ।

गौशाला व्यवस्थापनका लागि यस वर्ष २० लाख रुपियाँ बजेट छ । गाई चराउन आठ जना गोठाला राखिएका छन् । जङ्गलमा पनि कणर्ालीको बाढी पसेकाले चरन छैन, बालुवा मात्रै छ ।

डुलाएर, पानी खुवाएर थुन्ने गरेको गोठाला देवकुमार चौधरीले बताए । गौशालाको बाहिर एक थुप्रो पराल राखिएको छ, जो सबै गाईलाई खुवाउने हो भने एक दिनलाई पनि पुग्दैन । त्यसैले भर्खर ल्याइएका थुनुवा गाईलाई मात्रै खुवाउने गरिएको बताइन्छ । यसअघि जाडोमा मरे पनि अब चिसो हट्दै गएकाले मर्न कम भइसकेको अर्का गोठाला तुलाराम पोखरेलले बताए ।

एक करोड ६० लाख रुपियाँको लागतमा बनेको गोबर ग्याँस प्लान्टबाट उत्पादित ग्यास अझै उपभोक्तालाई दिइएको छैन । ग्याँस प्लान्टबाट सात महिना अघिदेखि ग्याँस निस्किरहेको छ । स्थानीय ठाकुरप्रसाद चौधरीले भने ‘मेसिन दैनिक चलिरहेको छ, घर घरमा मिटर, चुला लागेको छ तर गोबर ग्याँस तयार भए पनि हामीले पाएका छैनौँ ।’

निस्कने गोबरको जैविक मल बनाउने भनिए पनि बनाइएको छैन गोबर उम्लेर बगेर खेर गइरहेको छ । गौशाला व्यवस्थापन समितिका अध्यक्ष डम्बर बुढाले पालिकाले गोठालाको खर्च दिए पनि चाराको पैसा नदिँदा गाई व्यवस्थापनमा समस्या भएको बताए 

स्थानीय मातृकाप्रसाद रेग्मीले पालिकाले ठूलो लगानी गरेर गौशाला बनाए पनि गाईको आहारासहित संरक्षण नभएको बताए । उनले भने ‘गाईको मुखमा घाँसपराल केही देखिँदैन । यत्रो लगानी भएर पनि गाईको संरक्षण भएन । यहीँको ग्याँस, गोबर, गाईबाच्छा, गोरु बेचेर पनि आहारा किन्न सकिन्थ्यो ।’ नगर प्रमुख रामलाल डगौरा थारूले गाई व्यवस्थापनमा समस्या भइरहेकाले निजी क्षेत्रलाई जिम्मेवारी दिन लागेको बताए ।

गोरखापत्र

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update