Hamro Patra
रेशम चौधरीको मुद्दा आज सर्वोच्चको पेशीमा

टीकापुर, माघ २२

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले रेशम सहित कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकाहरुले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशम सहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । उच्च अदालतबाट समेत टुंगिएर सर्वोच्च आइपुगेको त्यही मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update