Hamro Patra
सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन आदेश

टीकापुर, माघ २३

कैलाली क्षेत्र नं. २ बाट निर्वाचित सांसद अरुण कुमार चौधरीले दायर गरेको रिटमा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा अदालतले आदेश दिन अस्वीकार गरेको हो ।

उच्च अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालत, सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश जारी गरेको सूचना अधिकारी नर बहादुर नेगीले जानकारी दिए ।

नेगीका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ ।

उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफल पछि अन्तरिम आदेश सम्बन्धमा निणर्य गर्न सकिने ठहर गर्दै माघ २९ गते पेश तोकिएको छ । २९ गते छलफलका लागि दुवै पक्षलाई बोलाइएको सूचना अधिकारी नेगीले बताए ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद चौधरीलाई १३ वर्ष अघिको आगजनी मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख बढी रूपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । प्रहरीले चौधरीलाई केहि दिन अघि बाँकेबाट पक्राउ गर्दै कैलाली कारागारमा थुनामा राखेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update