Hamro Patra
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

टीकापुर, माघ २५

सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशनको सातौ बैठक स्थगित भएको छ । बैठक भोलीसम्मका लागि विशेष कारणवश स्थगित भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी थियो । तर कारणवश बैठक स्थगित भएको हो ।

आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै बैठक स्थगित भएको छ । अर्को बैठक भोली दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना जारी गरेर जानकारी गराएको हो ।

प्रदेशसभामा सरकार गठनका लागि निणर्ायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री रावलको पद सङ्कटमा परेको छ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइ हुनुपर्ने माग राखेको नागरिक उन्मुक्ति पार्टीले उक्त माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताइरहेको छ ।

मंगलबार नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्य र अध्यक्ष रञ्जिता श्रेष्ठले रेसम चौधरीलाई कारागारमै पुगेर भेट गरेका थिए । उक्त भेटमा सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिनेबारे छलफल भएको हो । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दल सचेतक लक्ष्मण किशोर चौधरीले सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने बताए ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री रावलले बहुमत पुर्‍याउन नसकी राजीनामा गर्नुपर्ने हुन्छ । त्यसपछि १९ सदस्यसहित पहिलो दल रहेको नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update