टीकापुर, माघ २६
बैतडीको पाटन विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द छ । धनगढी-बैतडी-धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द भएको हो ।
हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । ११ करोडको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा बैतडीबाट आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियो । गत चैत १० गते अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टले बताए ।
पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा पाँच हजार छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए ।
भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनले बताए । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटन विमानस्थल २६ वर्षपछि २०७७ मा पुनःसञ्चालनमा आएको थियो । २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५१ देखि भने बन्द थियो ।
रासस




