टीकापुर, माघ २९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाण्डौँ गएका छन् । उनी आइतवार बिहान नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास पुगेका हुन् । मुख्यमन्त्री शाह र पार्टी सभापति देउवा बीच आइतवार बिहान भेटवार्ता भएको छ । सभापति देउवा निवास धुम्बाराहीमा उनीहरु बीचमा राजनीतिक छलफल भएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक काठमाडौं गएका शाहले देउवासँग भेट गरेका हुन् । मुख्यमन्त्री शाहले काँग्रेस उपसभापति पूणर्बहादुर खड्का, केन्द्रीय सदस्य आरजु राणा देउवासँगसमेत भेटवार्ता गरेका छन् । नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार शाह मुख्यमन्त्री नियुक्त भएका थिए । उनी शनिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका थिए । शनिवार नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगसमेत मुख्यमन्त्री शाहले भेटवार्ता गरे । उनी आइतवार बिहान काठमाडौँ पुगेका हुन् ।
मुख्यमन्त्री शाहले सभापति देउवासँग राजनीतिक घटनाक्रम र प्रदेशको विकास निर्माणका विषयमा छलफल गरेको काँग्रेस स्रोतले बताएको छ । मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा नागरिक उन्मुक्ति, एमाले, माओवादीसहितका दलहरुको संयुक्त सरकार गठन गर्ने दाबी गर्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । उनलाई एकीकृत समाजवादी बाहेक माओवादी, नागरिक उन्मुक्ति वा एमालेको साथ आवस्यक छ । अहिले मुख्यमन्त्री शाहलाई काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदको साथ छ । सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन् । विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ ।
सुदूरपश्चिममा काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।




