धनगढी, फागुन १
कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेको भोलिपल्ट आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले धनगढी पुगेर निरीक्षण गरेका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि सुदूरपश्चिमको पहिलो पटक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले सो विश्वविद्यालयको निरीक्षण गरेका हुन् । आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य गरेको थियो ।
प्रधानमन्त्री दाहालसँगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायतको टोलीले निरीक्षण गरेको हो ।
सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो । तर प्रारुपबारे २०६५ देखि नै अन्योलता रहेकोमा आइतवार सरकारले विश्वविद्यालय बनाउने निणर्य गरेको हो ।
यहाँ ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएका छन् । जहाँ छात्र र छात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शवदाह घर, अक्सिजन प्लान्ट र थप ३ शय शैयाको अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ ।
साविक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो । यद्यपि सम्पूणर् निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको छ । २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । भने आव २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो ।
उता, आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन् ।
यस्तै आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।




