टीकापुर, फागुन ३
कैलाली कारागारमा थुनामा रहेका प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का निलम्बित सांसद अरुण चौधरीको मुद्दाको अन्तिम बहस सकिएको छ । कैलाली बार एशोसियसनको कक्षबाट चौधरीले श्रव्यदृष्य संवादमार्फत् बयान दिएपछि अन्तिम बहस सकिएको हो ।
बुधबार न्यायधीस देशबहादुर सार्की, न्यायधीस गणेश ठाकुरको इजलासमा बहस सकिएको हो । ‘मैले न्याय पाउनु पर्छ । मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन । हजुरहरूकै मिडियामार्फत् मलाई मुद्दा छ भन्ने थाहा पाए’ अरूणले भने, ‘म कैलाली आउँदै थिए । मलाई अपहरणको शैलीमा बाटोमा समातियो ।’
माघ २९ गते उच्च अदालतले कारागार कार्यालयमा थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतले सरकारी वकिलको कार्यालय कैलालीलाई लिखित जवाफ पेश गर्न र चौधरीलाई बयान दिन बुधबार उपस्थित गराउन भनिएको थियो ।
ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४ शय २३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले केही दिन अघि बाँकेबाट पक्राउ गरेको थियो ।




