Hamro Patra
सांसद चौधरीले ८ लाख जरिवाना तिरे, सजाय मिनाहाको लविङ

टीकापुर, फागुन ५

कैलाली-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पाार्टीका सांसद अरुणकुमार चौधरी रिहा हुने संकेत देखिएको छ ।

चौधरीले आगजनी घटनामा तोकिएको ८ लाख जरिवाना समेत बुझाएको पाइएको छ । जरिवाना बुझाउन बाँकी रहेको उनको कैद सजाय माफी मिनाहा गरेर फागुन ७ गते प्रजातन्त्र दिवसको दिन उनलाई रिहा गर्न लागिएको बुझिएको छ । सजाय माफीका लागि प्रक्रिया समेत अघि बढाइएको छ । माफी मिनाहाका लागि फाइल राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो ।

फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी लगिएको थियो । प्रहरीले पक्राउ गरेपछि उनलाई कैद र जरिवाना असुलका लागि जिल्ला अदालत पेस गरेको थियो । जिल्लाले थुनामा पठाएपछि उनी त्यसविरुद्ध बन्दीप्रतिक्षीकरणको निवेदन लिएर उच्च अदालत दिपायल पुगेका थिए ।

बुधबार मात्र उनको मुद्दामा सुनुवाइ भएको थियो । तर, उच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । उच्चले अन्तरिम जारी गर्न अस्वीकार गरेपछि उनी थुनामै रहेका छन् । फरार सूचीमै रहेका बेला चुनाव लडेका उनी विजयी भएका थिए । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद चौधरीको रिहाइको माग गर्दै बिहीबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update