टीकापुर, फागुन ५
कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ बाट ३५ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार वडा नं. ५ मनिकापुरका २८ वर्षीय रामचन्द्र चौधरी ३५ ग्राम ७८० मिलिग्राम तौल भएको खैरो हेरोइनसहित आज पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले लागुऔषधको कारोवार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको बताए ।
‘निजले खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने विशेष सुचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र यस कार्यालयको टोलीले चौधरीलाई पक्राउ गरिएको हो’ डिएसपी भाटले भने ‘उनलाई चेकजाँच गर्दा दुई थान प्लास्टिकको पोकासहित कुल तौल ३५ ग्राम ७८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ ।’
पक्राउ परेका चौधरीमाथि थप अनुसान्धान कार्य भइरहेको डिएसपी भाटले बताए । पछिल्लो समय कैलालीको पूर्वी क्षेत्रमा लागुऔषधमा संलग्नहरु पक्राउ परिरहेका छन् ।




